ओखलढुङ्गामा सूर्यध्वजावाहक उम्मेदवारको जितका लागि मोलुङ-काठमाडौं सम्पर्क मञ्चको १५१ सदस्यीय परिचालन कमिटी गठन


काठमाडौँ, ७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुङ्गाकी सूर्यध्वजावाहक उम्मेदवार अस्मिता थापाको पक्षमा मोलुङ गाउँपालिकासम्बद्ध मतदातालाई संगठित गर्न १५१ सदस्यीय निर्वाचन समन्वय तथा परिचालन कमिटी गठन गरिएको छ ।

मोलुङ-काठमाडौं सम्पर्क मञ्च को मातहतमा रहने गरी गठन गरिएको उक्त कमिटीमा रामराज खतिवडा, चन्द्र राई (वाम्वुले) र डिल्ली दाहाल नेतृत्व भूमिकामा रहने जनाइएको छ। साथै अग्रज नेता रत्न धमलालाई विशेष सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको मञ्चले जानकारी दिएको छ ।

काठमाडौँमा आयोजित बैठकले निर्वाचन रणनीति, मतदाता समन्वय, प्रचार-प्रसार तथा व्यवस्थापनका विषयमा छलफल गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ। विशेषगरी काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका मोलुङ गाउँपालिकाका मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, मतदानका लागि जिल्ला पठाउने तथा चुनावी वातावरण सुदृढ बनाउने निर्णय गरिएको बताइएको छ ।

समितिले ओखलढुङ्गाको समग्र विकास, स्थानीय मुद्दा र राजनीतिक स्थायित्वका लागि सूर्य चिन्हमा मतदान गर्न अपिल गर्दै अभियानलाई तीव्र बनाउने जनाएको छ।

यसअघि चम्पादेवी-काठमाडौं सम्पर्क मञ्चले पनि १७७ सदस्यीय निर्वाचन समन्वय तथा परिचालन कमिटी गठन गरिसकेको सन्दर्भमा मोलुङ-काठमाडौं सम्पर्क मञ्चले समेत आफ्नो क्षेत्रका मतदातालाई केन्द्रित गर्दै कमिटी निर्माण गरेको हो।