‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण


नारायणगढ (चितवन), १५ फागुन । भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ ।

विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरीखेतीसँगै एग्रो–टुरिजम प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ ।

फर्मका सञ्चालकमध्येका प्रमुख ससन देवकोटा नौ वर्षअघि अमेरिका बसाइबाट नेपाल फर्किएका हुन् । अमेरिकामा उच्च शिक्षा हासिल गरी उनले एग्रो–टुरिजम मोडलमा आधारित कृषि व्यवसाय सुरु गरेका हुन् । “हामीले एग्रो–टुरिजम मोडलमा स्ट्रबेरी फर्म सञ्चालन गरेका छौँ । यहाँ आउने आगन्तुकले आफैँ स्ट्रबेरी टिपेर लैजान सक्छन्”, उनले भने ।

स्ट्रबेरीखेती एक बिघा क्षेत्रफलमा फैलिएको छ भने समग्र फर्म पाँच बिघामा विस्तार गरिएको छ । फर्ममा चार जना स्थायी कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा आठदेखि १० जनासम्म कामदार खटिने गरेका छन् । यस वर्षदेखि आधुनिक तरीकाबाट स्ट्रबेरीसँगै टमाटर, क्याप्सिकम र खोर्सानी खेतीसमेत सुरु गरिएको छ ।

देवकोटाका अनुसार यहाँ स्ट्रबेरी उत्पादनको मुख्य समय करिब ५० दिनसम्म रहन्छ । सुरुआती वर्षमा अनुसन्धान गर्दै उपयुक्त जात छनोट गरिएको उनी बताउँछन् । विशेषगरी अमेरिकन भेराइटीका स्ट्रबेरी तराई क्षेत्रमा राम्रो हुने भएकाले सोही जात लगाइएको छ ।

उक्त बिरुवा मूलतः अमेरिकामा विकास गरिएको र हाल इजिप्टस्थित नर्सरीबाट आयात हुने गरेको उनको भनाइ छ । आगामी वर्षदेखि बिरुवा स्वदेशमै उत्पादन गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

“स्ट्रबेरीले अहिले एग्रो–टुरिजमलाई राम्रोसँग प्रवद्र्धन गरेको छ”, उनले भने । एग्रो–टुरिजममार्फत कृषिसँग प्रत्यक्ष जोडिने अवसर मिल्ने भएकाले बालबालिका तथा विद्यार्थीका लागि यो उपयोगी माध्यम बनेको उनको अनुभव छ । विभिन्न कृषि कलेजका विद्यार्थीले फर्ममा अध्ययन तथा अनुसन्धानसमेत गर्दै आएका छन् । व्यावहारिक शिक्षामा यसले टेवा पु¥याएको देवकोटाको भनाइ छ ।

देवकोटाका अनुसार पहाडी भेगमा पाइने भुइँ ऐँसेलु जातका स्ट्रबेरी समुद्री सतहबाट करिब १७ सयदेखि १९ सय मिटर उचाइमा राम्रो फल्ने गर्छन् । “एग्रो–टुरिजमको सम्भावना नेपालमा धेरै छ”, देवकोटाले भने, “अहिले मानिस कृषिसँग जोडिने रहर राख्छन् । केहीले भने पैसा कमाएर खेती छोड्ने अवस्था पनि देखिन्छ । तर जति कमाए पनि अन्ततः खानैपर्छ भन्ने कुरा बिर्सेर खेती छोडेका छन् । हाम्रो टिमको उद्देश्य भने कृषि पढेर कृषिमै रमाउन सकिन्छ भन्ने सोचको विकास गर्नु हो ।” उनले आगामी दिनमा अन्य स्थानमा पनि एग्रो–टुरिजम विस्तार गर्ने योजना रहेको बताए । रासस