काठमाडौं, फागुन २६ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदिन सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापालाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नतिजा अपेक्षाअनुसार नआएपनि निर्वाचनको नतिजाभन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्यका लागि अहिलेको कठिन घडीमा राजीनामा दिनु पार्टी र देश दुवैको हितमा नहुने स्पष्ट पारेका छन्।
नेता श्रेष्ठले निर्वाचनको नतिजालाई नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रूपान्तरण गर्न नसकिएको बताउदै निर्वाचनलले कांग्रेसलाई समयसापेक्ष बन्न र युवाहरूको आकांक्षा आत्मसात् गर्न गहिरो सन्देश दिएको जनाएका छन् । अब वडा तहदेखि केन्द्रसम्मै सङ्गठन सुदृढीकरणको संकल्पका साथ अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, प्रिय गगन बाबु,
सम्पन्न संघीय संसदको निर्वाचनको परिणाम हाम्रो अपेक्षाअनुसार आउन सकेन। तर, हाम्रो लागि निर्वाचनको नतिजा भन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण, र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य महत्व राख्छ। देश फेरि लयमा फर्कन थालेको छ, र यस यात्रामा तपाईंको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको छ।
यस निर्वाचनले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने, र संगठनात्मक रुपान्तरण गर्ने गहिरो सन्देश दिएको छ। यो नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रुपान्तरण गर्न नसकिएको चेतावनी पनि हो। अब निर्वाचनको सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म संगठन सुदृढीकरण गर्ने संकल्पका साथ अघि बढ्नु अपरिहार्य छ।
गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि, र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ। यस कठिन घडीमा राजनीमा ल्याउनु वा राजनीमा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन। बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ। तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिरहेका छौं।
यस संकटको घडीमा तपाईंलाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै, हामी सबै मिलेर नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गर्दछौं।
जय नेपाल।




प्रतिक्रिया