बिहीबार रातिको छिटपुट वर्षाले घट्यो वायु प्रदूषण


काठमाडौं, फागुन २९। काठमाण्डौं उपत्यकामा बिहीबार राति भएको छिटपुट वर्षाले प्रदूषण घटाएको छ । प्रदूषण घटेपछि आज बिहान काठमाण्डौ उपत्यकाको वायुको गुणस्तर एक्यूआई ३४ मा झरेको छ ।

जबकी बिहीबारसम्म एक्यूआई १ सय ५० भन्दा माथि थियो । वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

यसअघि काठमाण्डौको हावाको गुणस्तर सूचकाङ्क एक्यूआई २ सयसम्म पुगेर स्वास्थ्यका दृष्टिकोणले हानिकारक स्तरमा पुगेको थियो । देशका अरु ठाउँमा पनि प्रदूषण बढेको थियो । तर वर्षासँगै हावामा रहेको धुलो तथा धुवाँका कणहरू बाहिरिएपछि हावाको गुणस्तरमा सुधार आएको छ ।