मध्यपूर्वबाट नेपालीको उद्धार सुरु, ६५ हजार ८८६ नेपाली फर्किन आतुर


काठमाडौं, फागुन २९ । नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई) दुबईको विमानस्थलमा रोकिएका यात्रु ल्याउन सुरु गरेको छ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण दुबईमा अलपत्र परेका यात्रुलाई स्वदेश फिर्ता ल्याउन निगमले बुधबारदेखि उडान सुरु गरेको हो ।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बाइडबडी जहाजमार्फत काठमाडौंमा अलपत्र २६० यात्रुलाई बुधबार रातीको उडानमार्फत दुबई पु¥याइएको छ भने बिहीबार बिहान नेपाल अवतरण गरेको विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको छ ।

आज पनि यहाँबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले बताए । पुनले भने, ‘मध्यपूर्वमा जारी द्वन्द्वका कारण कतार, कुवेत लगायतका देशमा १४ दिनदेखि उडान रोकिएको छ । निगमले यसअघि काठमाडौं–दुबई– काठमाडौं रुटमा साताको छ दिन उडान गर्दै आए पनि हवाई सुरक्षाका कारण फागुन १६ गतेदेखि युएईमा रोकिएको छ । उताबाट फ्लाई दुबई र एअर अरेबियाले सिमित उडान थालेपनि नेपालबाट भने निगमले दुई वटा मात्रै उडानको अनुमती पाएको छ ।’

प्रवक्ता पुनका अनुसार परराष्ट्र मन्त्रालयले समेत आपत्कालीन अवस्थामा हुन सक्ने उद्धार उडानका लागि तयार रहन निर्देशन दिएकाले निगमले हवाई आकाशमा प्रतिबन्ध लागेका खाडी मुलुकबाट फ्लाई ओभरको अनुमति लिनेलगायतका प्राविधिक तयारी गरिरहेको छ । मध्यपूर्वका देशहरु युएई, साउदी अरब, कतार, कुवेत, इजरायल, जोर्डन, लेबनान, बराइनलगायतका देशमा लाखौँ नेपाली छन् ।

ती देशमा रहेका नेपालीको अवस्थाबारे बुझ्न परराष्ट्र मन्त्रालयको निर्देशनमा नेपाली राजदूतावास र महावाणिज्य दूतावासले जारी गरेका अनलाइन पोर्टलमा ६५ हजार ८८६ नेपालीले आफ्नो विवरण भरेका छन् । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्केपछि त्यहाँबाट नेपाली नागरिकको उद्धार तथा आवश्यक सहायतालगायतका प्रयोजनका लागि फागुन १८ गतेदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ।

फागुन १६ गतेदेखि कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाईक्षेत्रमा प्रतिबन्ध हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त गन्तव्यतर्फ हुँदै आएका दैनिक डेढ दर्जन उडान रद्द हुँदै आएका छन् । हाल दुबई विमानस्थलबाट फ्लाई दुबईले एक र सारहाज विमानस्थलबाट एयर अरेबियाले दैनिक तीन उडान गर्न थालेको छ ।