डडेल्धुराबाट चुनाव हारेका नैनसिंहको चुनावी खर्च २४ लाख !


काठमाडौं, फागुन २९ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस डडेल्धुराका उम्मेदवार नैनसिंह महरले २४ लाख ६ हजार ७५२ रुपैयाँ चुनावी खर्च गरेको विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणअनुसार उनले चुनावी अभियानका ११ शीर्षकमा उक्त रकम खर्च गरेका हुन्।

महरले प्रचार–प्रसार सामग्री खरिदमा सबैभन्दा बढी १० लाख ५७ हजार रुपैयाँ खर्च गरेका छन्। त्यसैगरी इन्धनमा २ लाख ६३ हजार ७५२ रुपैयाँ, गाडी भाडामा २ लाख रुपैयाँ तथा कार्यकर्ता परिचालन, बैठक र खानामा ३ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

त्यस्तै आमसभामा ३ लाख रुपैयाँ, बुथ एजेन्ट खर्च १ लाख ४१ हजार रुपैयाँ, मतदाता नामावली प्रिन्ट तथा स्टेशनरीमा ५२ हजार रुपैयाँ र प्रचार सामग्री ढुवानीमा ४५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।

यसैगरी मनोनयन दर्ता शुल्कमा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार तथा विविध शीर्षकमा ३५ हजार रुपैयाँ खर्च भएको महरले सार्वजनिक गरेको विवरणमा जनाइएको छ। महर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ताराप्रसाद जोशीसँग पराजित भएका थिए।