९१ मत पाउँदा अभिनेत्रीको जमानत जफत, चुनावी खर्च झन्डै आठ लाख


काठमाडौं, फागुन ३० । गतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लुडेकी नायिका निशा अधिकारीले चुनावी खर्च विवरण बुझाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार ७ लाख ७६ हजार ९२१ रुपैयाँ ४५ पैसा खर्च भएको छ । उनले ९१ मत प्राप्त गरेकी थिइन् । ९१ मत पाउँदा अधिकारीको जमानत जफत भएको छ ।

अधिकारीको सबैभन्दा धेरै खर्च सामाजिक सञ्जाल (विज्ञापन र डिजाइन) मा साढे २ लाख रुपैयाँ खर्च गरेकी छन् । कार्यालय सञ्चालन, खाजा–खाना, सवारीसाधन, फोटो–भिडियोलगायतमा पनि उनको ठूलो खर्च भएको देखिन्छ । त्यस्तै, स्वयंसेवकको खाजा, खाना, यातायात खर्च र निर्वाचन कार्यक्रम लगायत शीर्षकमा १ लाख २९ हजार ७०७ रूपैयाँ खर्चिएकी छन्। कार्यलय संचालनमा १ लाख १७ हजार रूपैयाँ खर्च भएको उल्लेख गरेकी छन्।

उनले आफू चुनाव लडेको गतिशील लोकतान्त्रिक पार्टीबाट २ लाख रुपैयाँ, व्यक्तिगत सहयोगबाट ५ लाख ४९ हजार ६७ रुपैयाँ र उम्मेदवारको तर्फबाट २७ हजार ८५५ रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख गरेकी छन् । हारेपछि उनले सामाजिक सञ्जालमार्फत संसदमा पुग्ने सपना अझै जीवित रहेको बताएकी थिइन् ।