रास्वपा, कांग्रेस र नेकपाले आज समानुपातिकतर्फको सूची तय गर्दै, तीनै दलले बोलाए बैठक


काठमाडौं, चैत १ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो । आजको बैठकले समानुपातिकतर्फ सूची तय गरेपछि रास्वपाले निर्वाचन आयोगमा बुझाउने छ ।

पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आजका लागि सारिएको हो । रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ ।

त्यस्तै, आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सूची तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने छ ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आज टुङ्गो लगाउने भएको छ । निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिकको नाम टुङ्गो लगाउन पत्र पठाएपछि नेकपाले पनि आज बैठक बसेर अन्तिम सूची तय गर्ने भएको हो । नेकपाको प्रत्यक्षतर्फ आठ सिट पाएको छ भने समानुपातिकमा नौ सिट मात्रै पाएको छ ।

नेकपाले आजको बैठकमा निर्वाचन परिणामका विषयमा समेत छलफल हुने जनाइएको छ । नेकपाले समानुपातिकमा कुल आठ लाख ११ हजार ५७७ मत मात्रै पाएको थियो ।