गगन थापालाई सचिनले भने- ‘यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ’


काठमाडौं, चैत ५ । नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले पार्टी सभापति गगन थापा चुनावी हारको जिम्मेवार नरहेको बताएका छन्। पार्टी सभापतिको हैसियतमा चुनावी पराजयको जिम्मेवारी लिँदै थापाले दिएको राजीनामाले उनको राजनीतिक उचाइ झल्किएको बताउदै तिमिल्सिनाले पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति, जनतासँग पूर्ण रूपमा विच्छेद भएको सम्बन्ध, मनपरी गठबन्धन, भ्रष्टाचारका आरोप र मूल्यहीन राजनीति जिम्मेवार रहेको जनाएका छन् ।

उनले पार्टीमा रहेका नकारात्मक पक्षविरुद्ध थापाले नै लडेको र निरन्तर सुधारका मुद्दा उठाएको जिकिर गर्दै समाजिक सञ्जालमा लेखेका छन्, ‘यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ, हाम्रो पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति थियो, जनतासँग पूर्ण रूपमा विच्छेद भएको सम्बन्ध थियो, मनपरी गठबन्धन थियो, भ्रष्टाचारका आरोप थिए, मूल्यहीन राजनीति थियो। जसको विरुद्ध तपाईंले नै लड्नु भयो र निरन्तर सुधारका मुद्दा उठाउनु भयो। तत्कालीन नेतृत्वले समय र जनताको भाव बुझिदिएको भए, विशेष अधिवेशनको नौबत नै आउने थिएन। विशेष अधिवेशनले कांग्रेसमा प्राण त भर्‍यो तर जनतामाझ सुधारको सन्देश लैजाने समय अपर्याप्त थियो। पार्टी सभापतिको हैसियतमा रहेकाले चुनावी पराजयको जिम्मेवारी लिँदै तपाईंले दिएको राजीनामाले तपाईंको राजनीतिक कद झल्काउँछ।

यसअघि काठमाडौं-४ बाट चुनाव जित्दै आएका गगन थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार बनेपछि उनको ठाउँमा सचिन उम्मेदवार बनेका थिए । गगन थापाले २०७०, २०७४ र २०७९ मा चुनाव जितेको क्षेत्रमा यसपटक सचिन पनि पराजीत भएका छन् ।

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुबै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसँग पराजीत भएका हुन् । काठमाडौं-४ मा रास्वपाका उम्मेदवार पुकार बम २९ हजार २४२ मत ल्याएर निर्वाचित हुँदा सचिनले ८ हजार ८२४ मत ल्याएका थिए । त्यस्तै, काठमाडौं छाडेर सर्लाही झरेका थापाको १८ बर्षे संसदीय यात्रालाई रास्वपाकै उम्मेदवार अमरेस कुमार सिंहले ब्रेक लगाइदिएका छन्। सिंहले त्यहाँबाट ३५ हजार ६८८ मत ल्याउँदा थापा २२ हजार ८ सय ३१ मतमा खुम्चन पुगेका थिए।