भोलीको बैठकले गगन थापाको राजीनामा अस्वीकृत गर्न सक्ने


काठमाडौं, चैत ५ । भोली बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता पार्टी उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्। पार्टी सभापति गगन थापाले राजीनामा दिएपछि उपसभापति शर्माले बैठकको अध्यक्षतामा गर्ने भएका हुन् ।


भोलिको बैठकमा थापाको राजीनामाबारे छलफल हुने बताइएको छ। उक्त बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने र राजीनामा फिर्ता लिन आग्रह गर्ने छ। कांग्रेसले ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा भोलि दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरेको छ ।

बैठकमा उनले सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउने छन् । बैठकमा कांग्रेसले निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ भने उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् ।

कांग्रेसले यसअघि नै सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ ।