कार्की आयोगको प्रतिवेदनले अनेक आशंका र उपशंका जन्मायो : कांग्रेस महामन्त्री


काठमाडौं, चैत ९ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले कार्की आयोगको छानबिन प्रतिवेदन सार्वजनिक नगर्दा अनेक आशंका र उपशंका जन्माएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्कीको नेतृत्वको आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो? यो किन सार्वजनिक गरिँदैन? भन्दै प्रश्न गरेका छन् ।

अन्तरिम सरकारको कार्यकाल सकिन लाग्दा समेत प्रतिवेदन सार्वजनिक नगर्नु सरकार कर्तव्य, दायित्व र जिम्मेवारीबाट विमुख भएको उनले टिप्पणी गरेका छन् । प्रतिवेदन गुपचुप राखिनु विडम्बना रहेको जनाउदै पौडेलले लेखेका छन्,

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशंका र उपशंका जन्माएको छ । कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन ? यक्ष प्रश्न खडा भएको छ ।

अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो । नेपाली काङ्ग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ । म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु ।