इजरायलसँगको रक्षा सम्झौता अघि नबढाउने मेलोनीको घोषणा


काठमाडौं । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले इजरायलसँगको रक्षा सम्झौतालाई अब अगाडि नबढाउने निर्णय सार्वजनिक गरेकी छन्।

भेरोनामा आयोजित एक कार्यक्रमका क्रममा पत्रकारहरूसँग कुरा गर्दै मेलोनीले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सरकारले इजरायलसँगको रक्षा सम्झौताको नवीकरणलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्।

बीबीसीका अनुसार, यो सम्झौता लामो समयदेखि चल्दै आएको थियो र हरेक पाँच वर्षमा विभिन्न राजनीतिक दलका सरकारहरूले यसलाई स्वतः नवीकरण गर्दै आएका थिए।

इटाली र इजरायलबीचको यो रक्षा सम्झौतामा सैन्य उपकरणहरूको आदान(प्रदान र संयुक्त अनुसन्धान जस्ता महत्वपूर्ण पक्षहरू समावेश थिए।

तर, वर्तमान युद्ध र क्षेत्रीय तनावका बीच इटालीले यसलाई तत्कालका लागि रोक्ने निर्णय लिएको हो।

प्रधानमन्त्री मेलोनीले होर्मुज स्ट्रेट पुनः खोल्नका लागि हरेक सम्भव प्रयास गरिनुपर्नेमा समेत जोड दिएकी छन्।

यता इटालीको यस कदमप्रति इजरायलले भने सहज प्रतिक्रिया दिएको छ। इजरायली विदेश मन्त्रालयका प्रवक्ताले इटालीसँग कुनै ठोस सुरक्षा सम्झौता नरहेको दाबी गर्दै यस निर्णयले इजरायलको सुरक्षामा कुनै असर नपर्ने बताएका छन्।

इजरायलले यसलाई ‘धेरै वर्ष पुरानो समझदारी पत्र’ मात्र भएको र यसमा कहिल्यै कुनै ठोस सामग्री समावेश नभएको टिप्पणी गरेको छ। इटालीको यो निर्णयले अन्तर्राष्ट्रिय स्तरमा इजरायलमाथि बढ्दै गएको कूटनीतिक दबाबलाई भने संकेत गरेको छ।