कोलोम्बो, २ वैशाख । मध्यपूर्वको द्वन्द्व विस्तारिँदै हिन्द महासागरसम्म प्रभाव पारिरहेका बेला श्रीलङ्काले आफ्नो भूमिमा आश्रय लिएका २३८ इरानी नाविकहरूलाई स्वदेश फिर्ता गरेको जनाएको छ । अमेरिकी पनडुब्बी आक्रमणपछि समुद्रमा सङ्कटमा परेका ती नाविकहरूलाई उद्धार गरी मानवीय आधारमा संरक्षण दिइएको थियो ।
श्रीलङ्काका उप–रक्षामन्त्री अरुणा जयसेकराका अनुसार मार्च ४ मा श्रीलङ्काको समुद्री क्षेत्रमा आक्रमणमा परेको इरानी युद्धपोत ‘आइआरआईएस डेना’ बाट ३२ जना नाविकलाई उद्धार गरिएको थियो । साथै, अर्को इरानी जहाज ‘आइआरआइएस बुसेहर’ का २०६ जना नाविकलाई मङ्गलबार स्वदेश फर्काइएको उनले जानकारी दिए ।
उनका अनुसार ‘आइआरआइएस बुसेहर’ का केही प्राविधिक नाविकहरू जहाज सञ्चालनका लागि फर्किएका छन् भने ‘आइआरआइएस डेना’ बाट उद्धार गरिएका २०६ जना नाविकलाई चार्टर्ड विमानमार्फत इरान पठाइएको हो । यसअघि श्रीलङ्काको उत्तरपूर्वी क्षेत्र त्रिन्कोमालीमा लङ्गर गरिएको ‘आइआरआइएस बुसेहर’ सञ्चालनका लागि १५ जना इरानी नाविकहरू अझै त्यहीँ रहने बताइएको छ ।
इरानी अधिकारीहरूले ‘आइआरआइएस डेना’ माथिको आक्रमणलाई मध्यपूर्वको युद्ध हिन्द महासागरसम्म फैलिएको सङ्केतका रूपमा व्याख्या गरेका छन् । अमेरिका र इजरायलसँगको द्वन्द्वको प्रारम्भिक चरणमै भएको उक्त आक्रमणमा १०४ जना नाविकको ज्यान गएको जनाइएको छ । तीमध्ये ८४ जनाको शव उद्धार गरी स्वदेश पठाइसकिएको छ ।
गत महिना श्रीलङ्काका लागि इरानी राजदूत अलिरेजा डेलखोसले कोलम्बोसँग ‘आइआरआइएस बुसेहर’ का नाविकहरूको फिर्तीका विषयमा वार्ता भइरहेको जानकारी दिएको थियो । श्रीलङ्काले उक्त जहाजलाई सुरक्षित बन्दरगाह उपलब्ध गराएको थियो ।
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकले सन् १९०७ को हेग महासन्धिअनुसार मानवीय आधारमा इरानी नाविकहरूलाई संरक्षण प्रदान गरिएको स्पष्ट पारेको छ । तर दोस्रो इरानी जहाजका सबै नाविकलाई देश छोड्न अनुमति दिइएको कानूनी आधारबारे भने तत्काल स्पष्ट हुन सकेको छैन ।
यसैबीच, श्रीलङ्काले आफ्नो तटस्थता कायम राख्ने नीति अनुरूप अमेरिकी लडाकू विमानहरूलाई देशभित्र स्थलगत सुविधा प्रयोग गर्न अनुमति नदिएको पनि जनाइएको छ ।
उता, तेस्रो इरानी जहाज ‘आइआरआइएस लाभन’ १८३ जना चालक दलसहित मार्चको सुरुआतमै भारतको कोची बन्दरगाहमा शरण लिन पुगेको थियो । त्यसपछि सो जहाजका १०० भन्दा बढी गैर–आवश्यक चालक दलका सदस्यहरू भारतबाट बाहिरिएका छन् । रासस




प्रतिक्रिया