समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ : प्रचण्ड


काठमाडौं, वैशाख ९ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा पनि शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू कायम रहेको भन्दै साँचो अर्थमा जनताको व्यवस्था अझै पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन् ।

पार्टी स्थापनाको ७७ औं वर्षगाँठ तथा लेनिन जयन्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले समाजमा विभेद कायम रहँदासम्म कम्युनिस्ट पार्टीको औचित्य रहने उल्लेख गरेका छन्। सन्देशमा उनले अन्तर्राष्ट्रिय परिस्थितिको सन्दर्भ उठाउँदै साम्राज्यवाद अझ आक्रामक बन्दै गएको दाबी गर्दैखलेनिनका विचार र मार्गदर्शन अझ सान्दर्भिक बनेको जनाएका छन् ।

प्रचण्डले समाजवाद र साम्यवादको लक्ष्य प्राप्तिका लागि सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि समेत आह्वान गरेका छन् । उनले नेकपाकै नेतृत्वमा भएका बलिदानीपूर्ण सङ्घर्षका कारण नेपालमा सामन्ती निरङ्कुशताको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता रहेको समेत औँल्याएका छन् ।