७७औँ स्थापना दिवसमा आज एमालेले विशेष कार्यक्रम गर्दै


काठमाडौं, वैशाख ९ । नेपाली कम्युनिष्ट पार्टी (एमाले) ले आज नेकपाको ७७औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे सुरु हुने विशेष कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने तयारी रहेको छ ।

विक्रम संवत २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेताहरुमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । नेकपाको स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।

नेपालमा जहानियाँ राणा शासन चलिरहेका बेला भूमिगत रुपमा स्थापना भएको नेकपाले सामान्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।