दिल्लीलाई आरसीबीले ९ विकेटले हरायो, आज पञ्जाव र राजस्थान भिड्दै


काठमाडौं, वैशाख १५ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै छैटौँ जित निकालेको छ । यस खेलमा दिल्लीले दिएको ७६ रनको झिनो लक्ष्य पछ्याएको आरसीबीले ६.३ ओभरमै मात्र एक विकेट गुमाएर पूरा गर्यो । यो जितपछि आरसीबीले आठ खेलबाट १२ अंक पुर्याएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १६ ओभर ३ बलमा अलआउट हुँदै ७५ रन मात्र बनाउन सक्यो । पावर प्लेमै दिल्लीले १३ रन मात्र बनाएको थियो । आरसीबीका जोस हेजलवुडले ४ तथा भुवनेश्वर कुमारले ३ विकेट लिए । ७६ रनको लक्ष्य आरसीबीले ६ ओभर ३ बलमै १ विकेट गुमाएर भेट्टायो । जेकब बेथेलले ११ बलमा २० रन बनाए । देवदत्त पडिक्कलले १३ बलमा अविजित ३४ रन जोडे । त्यस्तै विराट कोहलीले पनि अविजित २३ रन बनाए ।

जीतसँगै आरसीबी अङ्क तालिकाको दोस्रो स्थानमा छ भने दिल्ली सातौँ स्थानमा यथावत् रहेको छ । आईपीएल क्रिकेटमा आज बेलुकी पौने ८ बजे पञ्जाव किङ्ग्स र राजस्थान रोयल्स खेल्नेछन् ।