काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वर्तमान प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई अहिले नै परिवर्तन गर्न नहुने बताएका छन्। उनले यो सरकारलाई पाँच वर्ष नै निर्बाध रूपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका नेताहरूको हालैको भारत भ्रमणलाई पुराना राजनीतिक दलहरूसँग तुलना गरेका छन्। कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरू सत्तामा वा विपक्षमा रहँदा भारत यात्रा गर्ने होडबाजी चल्ने गरेको उल्लेख गर्दै उनले अहिले रास्वपाले पनि त्यही रणनीति लिएको बताए।
“रवि लामिछाने तीन महिनाको दौरानमा दोस्रोपटक भारत जानुभएको छ। हुन त यसलाई नितान्त धार्मिक यात्रा भनिएको छ, राजनीतिक भ्रमण होइन भनिएको छ। यसलाई कतिपयले सत्ता परिवर्तन गर्ने खेलका रूपमा पनि लिएका छन्,” धमलाले भने, “तर, अहिले नै सरकार परिवर्तन गर्नु हुँदैन, जनताको म्यान्डेट पनि सत्ता परिवर्तन गर्न छैन।”
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणअघि रास्वपाका सभापति रवि लामिछानेका साथै नेता र मन्त्रीहरु स्वर्णिम वाग्ले, शिशिर खनाल, सुधन गुरुङ, प्रतिभा रावललगायतले भारत भ्रमण गरिसकेको र प्रधानमन्त्री बालेन शाहले पनि छिट्टै भारत भ्रमण गर्न लागेको प्रसंग धमलाले उल्लेख गरे । रास्वपा नेताहरूको भारत भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध थप सुमधुर हुनुपर्नेमा धमलाले जोड दिए ।
प्रधानमन्त्री र रास्वापाका नेताहरूको भारत भ्रमण देशको विकास र समृद्धिको बहस तथा लगानीको वातावरण बनाउनेतर्फ केन्द्रित हुनुपर्ने धमलाले बताए। भारतबाट ठूला लगानीकर्ताहरूलाई आमन्त्रण गरेर नेपालमा लगानीको वातावरण बनाउनुपर्नेमा अध्यक्ष धमलाले जोड दिए।
यसैबीच, एक फरक प्रसंगमा अध्यक्ष धमलाले विश्वभरका धार्मिक पर्यटकहरूलाई लुम्बिनी भित्र्याउनुपर्ने बताएका छन्। लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति उपयुक्त रहेको पनि उनले प्रतिक्रिया दिए।
साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी, एमालेका नेता दयालबहादुर शाही, नेकपाका युवा नेता सुदेश पराजुली र रास्वपाका युवा नेता अंकित यादवले पनि समसामयिक राजनीतिक परिस्थितिमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।




प्रतिक्रिया