‘डोजर आतंक बन्द’को मागसहित पोखराका सुकुम्बासीले गरे प्रदर्शन


काठमाडौं । यहाँका सुकुमबासी बस्तीमा धमाधम डोजर चलिरहँदा पोखराका सुकुमबासी भने त्रसित बनेर सडकमा निस्किएका छन् ।
उनीहरूले आज पोखराका सडकमा प्रदर्शन गरेका छन् । ‘डोजर आतंक बन्द गर’ भन्ने नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी वस्ती खाली गर्न नहुने मागसहितको पत्र कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र पठाएका छन् ।

पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते सूचना जारी गरिएको हो ।

पोखरा बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्बासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्थाबिना बस्ती खाली गर्न नहुने माग राखेका छन् ।