मुस्ताङ । यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिएका हुन् ।
कालीगण्डकी करिडोर तथा शाखा सडकलगायत पूर्वाधार निर्माणले यहाँका कतिपय पर्यटकीय पदमार्ग मासिएका छन् । त्यस्ता पदमार्गको संरक्षण, विकास र प्रवर्द्धन गर्दै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ पछिल्लो समय पदमार्ग मर्मत तथा स्तरोन्नति भइरहेको छ ।
थासाङ गाउँपालिका–४ पैरोथाप्लादेखि वारागुङ मुत्तिक्षेत्र–३ छुसाङसम्म कार्यक्षेत्र रहेको एक्याप जोमसोम कार्यालयले चालु आर्थिक वर्षका लागि ११ वटा पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति गर्न ३२ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । एक्याप जोमसोम कार्यक्षेत्रका ११ वटा पर्यटकीय पदमार्ग मर्मतमध्ये तीनवटा सम्पन्न भइसकेको र अन्य पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नतिको चरणमा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका पदमार्ग चौडा गर्ने, सरसफाइ गर्ने, जोखिममा रहेका पदमार्गमा छप्पनी ढुङ्गा बिछ्याउने, पदमार्ग उकास्न ग्याबिन वाल र रेलिङ लगाउने काम भइरहेको छ ।




प्रतिक्रिया