युक्रेनमाथि रुसको भीषण आक्रमण, २७ जनाको मृत्यु


कीभ । युक्रेनले प्रस्ताव गरेको अनिश्चितकालीन युद्धविराम लागू हुनुभन्दा केही घण्टाअघि मात्रै पूर्वी युक्रेनका विभिन्न क्षेत्रमा रुसले भीषण आक्रमण गरेको छ।

मंगलबार भएका यी आक्रमणहरूमा परी कम्तीमा २७ जनाको ज्यान गएको छ, जसमा यो वर्षकै सबैभन्दा घातक मानिएको एउटा आक्रमणमा मात्रै १२ जनाले ज्यान गुमाएका हुन्।

दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघले प्राप्त गरेको विजयको सम्झनामा मस्कोको रेड स्क्वायरमा हुने सैन्य परेडलाई लक्षित गर्दै रुसले मे ८ र ९ तारिखका लागि युद्धविरामको घोषणा गरेको थियो। यसको जवाफमा युक्रेनले बुधबार मध्यरातदेखि लागू हुने गरी अनिश्चितकालीन युद्धविरामको प्रस्ताव अघि सार्दै रुसलाई पनि यसमा सहभागिता जनाउन आग्रह गरेको थियो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सैन्य परेडका लागि रुसले एक दिन मात्रै आक्रमण रोक्ने र बाँकी समय युक्रेनमाथि बमबारी गरिरहने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका थिए। युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले सामाजिक सञ्जाल एक्समा लेख्दै रुसले शान्तिको कुनै संकेत नदेखाएको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘युक्रेनले प्रस्ताव गरेको युद्धविराम लागू हुन केही घण्टा मात्र बाँकी छँदा रुसले शत्रुता अन्त्य गर्ने कुनै संकेत देखाएको छैन। यसको विपरित मस्कोले आफ्नो आतंकलाई अझ तीव्र बनाएको छ।’

यता, युक्रेनी युद्धविरामको समयसीमा सुरु भएको केही मिनेटभित्रै सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियाका रुस-नियुक्त प्रमुख सर्गेई अक्स्योनोभले टेलिग्राममा एक पोस्ट गर्दै युक्रेनी ड्रोन आक्रमणमा परी जान्कोइ सहरमा पाँच नागरिकको मृत्यु भएको दाबी गरे। यद्यपि, यो आक्रमण युद्धविरामको समयसीमा सकिनुअघि नै भएको अनुमान गरिएको छ र युक्रेनी युद्धविराम सुरु भएलगत्तै कुनै नयाँ आक्रमण भएको प्रमाण भेटिएको छैन।

रुसी अधिकारीहरूले युक्रेनको युद्धविराम प्रस्तावलाई खासै वास्ता गरेका छैनन्। रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले मध्यरातपछि दोस्रो विश्वयुद्धका दिग्गजहरूलाई बधाई दिँदै युक्रेनमा लडिरहेका सैनिकहरूको प्रशंसा गरे। उनले वर्तमान सैनिकहरू आफ्ना पुर्खा जस्तै योग्य रहेको र देशको रक्षा गरिरहेको बताए।

बम र ड्रोनको वर्षा

युक्रेनको दक्षिण-पूर्वी सहर जापोरिज्जियामा हवाई बम र ड्रोन आक्रमणबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। क्षेत्रीय गभर्नर इभान फेडोरोभका अनुसार यस आक्रमणबाट आवासीय भवनहरू, कार मर्मत केन्द्र र कार धुने केन्द्रमा ठूलो क्षति पुगेको छ। साथै एउटा पसल र अन्य उद्योगहरूमा पनि आगलागी भएको छ।

जापोरिज्जिया नगर परिषद्का सचिव रेहिना खार्चेन्कोले रुसको यस आक्रमणलाई निकै क्रूर भनेकी छिन्। उनले भनिन्, ‘जापोरिज्जिया सहरका सुविधाहरूमाथि यो निकै निन्दनीय प्रहार हो, जहाँ चारवटा निर्देशित हवाई बम खसालिएको थियो। बम प्रहारलगत्तै शत्रुले जानाजानी तिनै स्थानहरूलाई लक्षित गरी इरानी डिजाइनका शाहेद ड्रोनहरूबाट आक्रमण सुरु गर्‍यो।’

यसैगरी उत्तर-पूर्वी क्षेत्रको अग्रपंक्तिमा रहेको क्रामाटोर्स्क सहरमा तीनवटा हवाई बम खसालिँदा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दक्षिण-पूर्वी युक्रेनकै डिनिप्रोमा भएको रुसी आक्रमणमा थप चार जनाले ज्यान गुमाएका छन्।

image (1)

राष्ट्रपति जेलेन्स्कीले लेखेका छन्, ‘यी पूर्ण रूपमा क्रूर, संवेदनहीन र कुनै पनि सैन्य औचित्य नभएका आतंकवादी आक्रमणहरू हुन्। हाम्रा सहर र गाउँहरूमाथि हुने यस्ता रुसी आक्रमणहरू एक दिन पनि रोकिएका छैनन्।’

यसबाहेक पोल्टावा क्षेत्रमा रहेको ग्यास उत्पादन केन्द्रमा रुसले गरेको रात्रिकालीन आक्रमणमा छिमेकी खार्किभ क्षेत्रका एक बालकसहित पाँच जनाको मृत्यु भएको छ भने उत्तरी सुमी क्षेत्रमा भएको आक्रमणमा ६ जना घाइते भएका छन्।

अर्कातर्फ, रुसको मध्य भागमा पर्ने चुभासिया क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको रुसी सरकारी समाचार एजेन्सी तासले जनाएको छ। रुसी रक्षा मन्त्रालयले आफ्ना हवाई रक्षा एकाइहरूले क्रिमिया र अन्य रुसी क्षेत्रहरूमा सात घण्टाको अवधिमा ९३ वटा युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ।

रोयटर्स