इरानले पठायो अमेरिकी शान्ति प्रस्तावको जवाफ


तेहरान । इरानले आइतबार वाशिङ्गटनको पछिल्लो शान्ति प्रस्तावको जवाफ दिएको छ । शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका धेरै लक्ष्यहरूमा आक्रमण गर्ने चेतावनीबिच अमेरिकाको इरानसँगको युद्धमा शान्तिका लागि पठाएको प्रस्तावको जवाफ पठाएको हो ।

शान्तिका लागि वार्ता र छलफल चलिरहँदा तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट पछि नहट्ने पनि जनाएको छ।

सरकारी प्रसारक आइआरआईबीका अनुसार तेहरानको प्रतिक्रिया, पाकिस्तानी मध्यस्थकर्ताहरूलाई दिइएको छ । जवाफ इरान लगायतका सहयोगी समूहमाथिको आक्रमण रोक्ने र विशेष गरी लेबनानमा युद्ध अन्त्य गर्ने बिषय र ‘ढुवानी सुरक्षा सुनिश्चित गर्ने’ बिषयलाई जोड दिइएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबाट शुक्रबारसम्ममा जवाफको अपेक्षा गरिरहेको बताएका थिए । प्रतिक्षा लम्बिँदै जाँदा खाडीमा युद्धविरामबिच तनाव बढ्दै गएको छ । आइतबारको ड्रोन हमलामा एउटा कतारको बन्दरगाहतर्फ जाँदै गरेको मालवाहक जहाजमा क्षति पुगेको थियो।

संयुक्त अरब इमिरेट्सले इरानलाई अर्को आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ, जुन पुष्टि भएमा यो एक महिना पुरानो युद्धविराम सुरु भएयता खाडी देशमाथि दोस्रो कथित आक्रमण हुनेछ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार भनेका छन्, “हामी शत्रुसामु कहिल्यै झुक्ने छैनौँ र वार्ता वा छलफलको कुरा हुँदैमा यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु हुँदैन ।”

यसैबिच, तेहरानका सेना प्रमुख अलि अब्दोल्लाहीले देशका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट गरी ‘शत्रुसँग लड्नका लागि अपरेसन जारी राख्न नयाँ निर्देशन र मार्गदर्शन’ प्राप्त गरेको’ बताएका छन्।

युरेनियम हटाउनुपर्छ

यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार एक अन्तर्वार्तामा भनेका छन्, “इरानविरुद्ध अमेरिका–इजरायल युद्ध समाप्त हुनुअघि इरानसँग संवर्धित युरेनियमको भण्डार ‘निकालिनुपर्ने’ मा जोड दिएका छन् ।

“यो समाप्त भएको छैन, किनकि त्यहाँ अझै पनि आणविक सामग्री (संवर्धित युरेनियम) छ । यसलाई इरानबाट बाहिर निकाल्नु पर्छ । त्यहाँ अझै पनि संवर्धन साइटहरू छन् जुन भत्काउन बाँकी छ।“ नेतान्याहूले सिबिएसको ‘सिक्स्टी मिनट’ कार्यक्रममा आइतबार प्रसारण हुने एक अन्तर्वार्ताको अंशमा भनेका छन्।

“यसलाई बाहिर निकाल्नुपर्छ चाहे तपाइ भित्र गएर होस या अरू कोही,” इजरायली नेताले युरेनियम कसरी हटाउन सकिन्छ भनेर सोधिएको प्रश्नमा भने । एजेन्सी