पोल्यान्डमा थप ५ हजार सेना पठाउने तयारीमा अमेरिका


वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्यान्डमा थप ५ हजार सेना पठाउने घोषणा गरेका छन् । एक साताअघि अमेरिकी रक्षा मन्त्रालयले पोल्यान्डमा पठाउने भनिएका ४ हजार सैनिकको तैनाथी योजना रद्द गरेपछि यो घोषणा आएको हो ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट लेख्दै उक्त निर्णय पोल्यान्डका राष्ट्रपति क्यारोल नवरास्कीसँगको अमेरिकाको सम्बन्धका आधारमा गरिएको ट्रम्पले बताएका छन् । उनले गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा नवरास्कीलाई समर्थन गरेका थिए ।

यद्यपि, ट्रम्पले थप पठाइने सैनिकहरू अघिल्लो तैनाथी योजनाकै हिस्सा हुन वा अलग अभियानअन्तर्गत पठाइने हुन भन्नेबारे स्पष्ट पारेका छैनन् । हालैका हप्ताहरूमा ह्वाइट हाउसले ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत युरोपमा रहेका अमेरिकी सैनिकको सङ्ख्या घटाउने सङ्केत दिएको थियो ।

यस महिनाको सुरुमा अमेरिकाले जर्मनीबाट पनि ५ हजार सैनिक फिर्ता बोलाउने घोषणा गरेको थियो । इरानसँगको युद्धबारे ट्रम्प र जर्मन चान्सलर फेड्रिख मेत्सबिचको विवादपछि यो निर्णय आएको बताइएको छ ।

ट्रम्पले यसअघि इरानी वार्ताकारहरू सँगको वार्तामा अमेरिका ‘अपमानित’ भएको मट्जको अभिव्यक्तिको आलोचना गरेका थिए । पोल्यान्ड पठाइने थप सैनिक जर्मनीबाट फिर्ता गरिएका सैनिककै हिस्सा हुन् वा छुट्टै समूह हो भन्ने अझै स्पष्ट छैन । यसका साथै ट्रम्पले नेटोका सहयोगी राष्ट्रहरूलाई इरानमाथि दबाब बढाउने अमेरिकी प्रयासमा साथ नदिएको भन्दै आलोचना पनि गरेका छन् । एजेन्सी