‘बालेन सरकारले सुशासन र रोजगारी सिर्जना गरोस्’–ऋषि धमला


काठमाडौँ । वरिष्ठ पत्रकार ऋषि धमलाले मुलुकको विकास र समृद्धिका लागि निरन्तर दबाब र खबरदारी आवश्यक रहेको बताएका छन् । स्वतन्त्र नागरिक अभियान नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै पत्रकार धमलाले जनअपेक्षाअनुसार काम गर्न वर्तमान सरकारसँग आग्रह गरे ।

मुलुकमा गणतन्त्र दिवस नजिकिँदै गर्दा आयोजित उक्त कार्यक्रममा धमलाले सरकारको विरोध गर्ने आफ्नो लक्ष्य नरहेको स्पष्ट पारे । ‘हामीले सरकारको विरोध गर्न यो कार्यक्रम गरेका होइनौँ,’ धमलाले भने, ‘हाम्रो माग त शक्तिशाली बालेन सरकारले देशमा सुशासन, लोकतन्त्र र विधिको शासन देयोस् भन्ने मात्रै हो ।’

अभियानमा समाजका हरेक क्षेत्रका नागरिकको उपस्थिति रहेको उल्लेख गर्दै धमलाले मञ्चमा आसिन व्यक्तित्वहरूको प्रशंसा पनि गरे । उनले पूर्वमुख्यसचिव विमल कोइरालालाई सुशासनको सूत्रधारको रूपमा स्मरण गर्दै कोइरालाको योगदानलाई ३ करोड नेपालीले बिर्सन नसक्ने बताए ।

त्यस्तै, लोकतन्त्र र मानवअधिकारको पक्षमा सशक्त आवाज उठाउँदै आएका अभियन्ता कृष्ण पहाडी, पदका लागि नलडी विकृतिविरुद्ध बोल्ने प्रा.डा सुरेन्द्र केसी, न्यायपरिषदमा रहेर उल्लेखनीय काम गरेका रामप्रसाद श्रेष्ठ र सुशासन अभियन्ता रञ्जन खनाललगायत व्यक्तित्वहरुको पनि धमलाले मुक्त कण्ठले प्रशंसा गरे ।

पत्रकार धमलाले देश परिवर्तनका लागि लडेका शहीद परिवार, राउटे, चेपाङ र पीडामा रहेका वादी समुदायलाई कार्यक्रममा निमन्त्रणा गरिएको जानकारी दिए । विशेषगरी भ्रष्टाचारविरुद्ध आवाज उठाउने जेनजी पुस्ताको सराहना गर्दै धमलाले भने, ‘भ्रष्टाचारीलाई कडा कारबाही हुनुपर्छ र मुलुकमा भ्रष्टाचार हुनुहुँदैन भन्ने जेनजी युवाहरूलाई म नमन गर्न चाहन्छु ।’

पत्रकार धमलाले देशको प्रशासनिक खर्च घटाउन र सुशासन कायम गर्न एउटा महत्वपूर्ण प्रस्ताव अघि सारे । उनले भने, ‘म जनतासामु प्रस्ताव राख्छु कि अब प्रदेशका मन्त्री र सांसदहरूको संख्या घटाउनुपर्छ ।’

विशेषगरी मधेश प्रदेशमा व्याप्त भ्रष्टाचार रोकिनुपर्नेमा जोड दिएका धमलाले कर्णालीका सडकहरूको स्तरोन्नति हुनुपर्ने मागसमेत जोडदार रूपमा उठाए ।

यस्तै, लाखौँ युवा विदेश पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै धमलाले युवाहरूलाई स्वदेशमै रोजगारी दिन सरकारलाई खबरदारी गर्नु अभियानको अर्को उद्देश्य रहेको प्रष्ट पारे । ‘युवाहरू पीडामा छन्, उनीहरूले खोजेको रोजगारी हो र वर्तमान सरकार यसका लागि तयार हुनुपर्छ,’ उनले भने ।

यसका साथै आगामी दिनमा देशमा स्वास्थ्य, शिक्षा निःशुल्क हुनुपर्ने, स्कुलको चौघेराभन्दा बाहिर रहेका गरिब तथा निमुखाका छोराछोरीले पढ्न पाउनुपर्ने र महिलाहरूलाई समान अधिकार दिँदै अबको संसद्मा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न अभियानले पहल गर्ने पनि पत्रकार धमलाले घोषणा गरे ।

यस्तै, आगामी बजेट निर्माणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै धमलाले सरकारले तयारी गरिरहेको संविधान संशोधन प्रक्रियामा पनि गम्भीरता अपनाउन सुझाव दिए ।
‘यो सरकार अपार जनमतसहित बनेको शक्तिशाली सरकार हो, यसले विधि र कानुनअनुसार काम गरोस्,’ धमलाले थपे, ‘हामी सरकारको सय दिन पुगेपछि यसका काम-कारबाही र सय बुँदाका बारेमा विस्तृत समीक्षा गर्नेछौँ ।’

हाल काठमाडौँबाट सुरु भएको स्वतन्त्र नागरिक अभियानलाई देशका ७७ वटै जिल्ला र ७५३ वटै पालिकामा विस्तार गरिने र देशैभरिका नागरिकलाई यसको सदस्यता लिनसमेत धमलाले आह्वान गरे । कार्यक्रममा धमलाले सम्पूर्ण नागरिकप्रति अभिनन्दनसमेत व्यक्त गरेका थिए ।