मध्यपूर्वमा तनाव कायम


रमल्लाह (वेस्ट बैंक), २० जेठ । मध्यपूर्वमा विभिन्न मोर्चामा युद्धविरामका घोषणा गरिए पनि क्षेत्रभर लडाइँ तीव्र भइरहँदा स्थायी शान्तिको सम्भावना अझै अनिश्चित बनेको छ । गाजा, लेबनान र इरानमा औपचारिक युद्धविरामका दाबीहरूबीच पनि जमिनमा हिंसा रोकिएको छैन, जसले ‘युद्धविराम’ शब्दकै प्रभावबारे प्रश्न उठाएको छ ।

पछिल्ला केही हप्तामा इजरायली सेनाले गाजामा आफ्नो नियन्त्रण विस्तार गर्दै थप क्षेत्र कब्जा गरेको छ भने हमासका शीर्ष लडाकूहरू सहित दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ । यसैबीच, लेबनानमा इजरायली सेनाले आफ्नो दशकौँयताकै गहिरो सैन्य कारबाही गरेको दाबी गरिएको छ । त्यहाँ हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार जारी राखेको छ ।

लेबनानमा जारी तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षले तनाव घटाउने सहमति जनाएको बताउनुभएको छ, तर युद्धमैदानमा भने लडाइँ रोकिएको छैन ।

संयुक्त राज्य अमेरिका र इरानबीच पनि स्थायी युद्धविरामका लागि प्रयास भइरहेका बेला सीमित झडपहरू जारी छन् । इरानले हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण कायम राखिरहेको छ भने अमेरिकी पक्षले इरानी बन्दरगाहहरूमा नाकाबन्दीलाई अझ कडा बनाउने प्रयास गरेको छ । यसले विश्व ऊर्जा आपूर्तिमा थप दबाब सिर्जना गरेको छ ।

यद्यपि औपचारिक रूपमा कुनै पनि पक्षले युद्धविरामबाट पूर्ण रूपमा बाहिरिने घोषणा गरेका छैनन्, तर व्यवहारमा भने सम्झौताहरू कमजोर बन्दै गएको देखिएको छ ।

गाजामा इजरायलले सन् २०२३ को अक्टोबर ७ को हमास आक्रमणपछि सुरु भएको युद्धविरामलाई शान्तिको आधार बनाउने भनिए पनि त्यसपछि अपेक्षित प्रगति हुन सकेको छैन । हमासले निःशस्त्रीकरण गर्न अस्वीकार गरेको र इजरायली सेना अझै पनि अग्रसर हुँदै गएको आरोप–प्रत्यारोप जारी छ ।

स्थानीय स्रोतका अनुसार गाजाका झण्डै साढे नौ लाखभन्दा बढी प्यालेस्टिनी अस्वस्थ पालका शिविरहरूमा बस्न बाध्य छन्  । त्यहाँ सफाइ, पानी र स्वास्थ्य समस्याले जीवन कठिन बनेको छ ।

अमेरिका र इजरायलले हमासलाई जिम्मेवार ठहर गर्दै निःशस्त्रीकरणको अभावले प्रक्रिया अवरुद्ध भएको बताएका छन् भने हमासले इजरायलले बारम्बार युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ, जसमा महिला र बालबालिकासहित सयौँको मृत्यु भएको दाबी गरिएको छ ।

इजरायलले गाजाको करिब ६० प्रतिशत भूभाग नियन्त्रणमा लिएको बताइएको छ । यो युद्धविरामअघि करिब आधा मात्र थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले नियन्त्रण अझ बढाउने सङ्केत गर्नुभएको छ, जसलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको शान्ति योजनासँग मेल नखाने बताउनुभएको छ ।

लेबनानमा पनि युद्धविरामको प्रभाव कमजोर देखिएको छ । इजरायल र इरान समर्थित हिजबुल्लाहबीच दक्षिणी क्षेत्रमा झडप जारी छ । इजरायली सेनाले ब्युफोर्ट किल्लामा आफ्नो झण्डा फहराएको घटनालाई दशकौँपछिको सबैभन्दा गहिरो सैन्य प्रवेशका रूपमा लिइएको छ भने हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट आक्रमण गरेको छ ।

सन् २०२४ को युद्धविरामपछि पनि इजरायली आक्रमण नरोकिएको र हिजबुल्लाहले पूर्ण रूपमा सम्झौता स्वीकार नगरेको अवस्था देखिएको छ । इजरायलले आफ्नो उत्तरी क्षेत्र सुरक्षित नभएसम्म लडाइँ जारी राख्ने स्पष्ट पारेको छ ।

यसैबीच इरानले अमेरिकासँगको कुनै पनि दीर्घकालीन सम्झौतामा लेबनानको अवस्था पनि समेटिनुपर्ने अडान राखेको छ । यसले वार्तालाई अझ जटिल बनाएको छ ।

हर्मुज जलघाँटीमा पनि तनाव निरन्तर छ । अमेरिकी पक्षले नाकाबन्दी कडा बनाइरहेको र इरानले यसको जवाफमा सैन्य गतिविधि बढाइरहेको बताइएको छ । पछिल्ला दिनहरूमा दुवै पक्षबीच ड्रोन र क्षेप्यास्त्र आक्रमणसमेत भएको छ ।

सप्ताहन्तमा इरानले अमेरिकी ड्रोन खसालेपछि अमेरिका र इरानबीच थप सैन्य कारबाही भएको र खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डाहरू लक्षित आक्रमण प्रयास गरिएको विवरण सार्वजनिक भएको छ ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा हालको अवस्था औपचारिक सम्झौता भए पनि व्यवहारमा युद्ध रोकिएको छैन भन्ने उदाहरण बनेको छ । यसले ‘युद्धविराम’ शब्दको विश्वसनीयतामै प्रश्न उठाएको छ ।रासस