रास्वपा कोशी प्रदेश अधिवेशन: नेतृत्वका लागि आधा दर्जन बढी आकांक्षी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशको पहिलो अधिवेशन जेठ २७ गते गर्ने भएको छ । विराटनगरस्थित जेसिज भवन, विराटचोकमा बुधबार आयोजना हुने अधिवेशनबाट नयाँ नेतृत्व सम्हाल्न आधा दर्जनभन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन् ।

पार्टीभित्र नयाँ ऊर्जा र सांगठनिक पकड बलियो बनाउने दौडका बीच हुन लागेको यो अधिवेशनलाई रास्वपा वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

सभापतिमा को-को छन् आकांक्षी?

कोशी प्रदेशका स्थानीय नेताहरूका अनुसार मूल नेतृत्व (सभापति) का लागि दाबेदारहरूको संख्या लामो छ । हालसम्म मुख्य गरी निम्न नेताहरूले सभापतिमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन्:

  • सरिन तामाङ: हाल कोशी प्रदेशकी कार्यवाहक सभापति हुन् । उनी गत आमनिर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत बनेकी थिइन् ।
  • चन्द्र राई: वर्तमान प्रदेश कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारीमा रहेका उनी सांगठनिक रूपमा बलिया मानिन्छन् ।
  • राजन दाहाल: कोशी–काठमाडौं विभागमा सक्रिय नेता हुन्।
  • चन्द्र गौली: केन्द्रीय सहकारी विभागका उपप्रमुखको भूमिकामा छन् ।
  • वीरेन्द्र श्रेष्ठ: ताप्लेजुङका पूर्व जिल्ला सभापति, जो प्रदेश नेतृत्वका लागि बलिया प्रतिस्पर्धी हुन् ।

पार्टी स्रोतका अनुसार आकांक्षीहरूको संख्या धेरै भएकाले नेतृत्व चयनमा सर्वसम्मति जुट्ने सम्भावना निकै कम देखिएको छ । प्रदेश तहका एक नेताका अनुसार बल्ल आकांक्षीहरूबीच आपसी छलफल र भेटघाट सुरु भएको छ, तर कसले कसलाई छाड्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । झण्डै ८-९ जनाले नेतृत्वको इच्छा राखेका कारण अन्ततः चुनावी प्रक्रियामै जानुपर्ने स्थिति सिर्जना भएको छ ।

Skip This

Omoda E5 Pro