एनसेल र गिरीबन्धुसहितका ठूला काण्डको अनुसन्धान भइरहेको छ, दोषी उम्किँदैनन् : प्रकाशचन्द्र परियार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सरकारले विगतका ठूला र खर्बौंका भ्रष्टाचार काण्डहरूको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचेतक परियारले पूर्ववर्ती नेता र सरकारका पालामा भएका करिब २५ वटा ठूला काण्डहरूको अनुसन्धान भइरहेको जानकारी दिए।

‘एनसेल काण्ड, गिरीबन्धु टी–स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणलगायत खर्बौंका करिब २५ वटा ठूला काण्डहरूको सूक्ष्म अनुसन्धान भइरहेको छ,’ परियारले भने, ‘उपयुक्त समय आएपछि गहिरो अनुसन्धान गरी दोषीलाई आजीवन काराबासको सजायसम्म पुर्‍याउने गरी काम भइरहेको छ।’

सचेतक परियारले सरकारले शपथ ग्रहण गरेकै दिनदेखि जनताको पक्षमा राम्रो काम गरिरहेको दाबी गरे। सुशासनको एजेन्डामा जनमत पाएकाले रास्वपा सरकार सोही प्रतिबद्धता पूरा गर्न लागिपरेको बताउँदै उनले दीर्घकालीन परिणाम आउन भने केही समय लाग्ने स्पष्ट पारे।

देशमा युवा पलायन नरोकिएको, गरिबी, बेरोजगारी, विभेद र बेथितिको चाङ कायमै रहेको तथा भू–राजनीतिक संवेदनशीलताका बीच पनि सरकारले रास्वपाको वाचापत्रअनुसार नै विकास निर्माणका कामलाई तीव्रता दिइरहेको उनको दाबी थियो।

प्रतिपक्षी दलहरूको भूमिकाबारे बोल्दै उनले रास्वपा विपक्षीको शक्ति र सहिष्णुतालाई कदर गर्दै उनीहरूलाई पनि सँगै लिएर अघि बढ्ने परिपक्वता राख्ने शक्ति भएको बताए। जनमतको अवमूल्यन हुन नदिन पार्टीले नियमित आत्मसमीक्षा गरिरहेको उल्लेख गर्दै उनले जस्तोसुकै चुनौती आए पनि पछि नहटी दृढ भएर अगाडि बढ्ने प्रण गरे।

परियारले सुशासन, सामाजिक न्याय, स्वाधीनता र समृद्धिको मार्गबाट आगामी एक दशकभित्र नेपाललाई दक्षिण एसियाकै सम्मानजनक आय भएको राष्ट्र बनाउने संकल्पका साथ सरकार र पार्टी अहोरात्र खटिरहेको धारणा राखेका थिए।