तीन विद्यार्थी पढाउन तीन शिक्षक


म्याग्दी, जेठ २७ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक-कर्मचारीको सङ्ख्या बराबर छ। कक्षा ३ सम्म पठनपाठन हुने यस विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारी दुवैको सङ्ख्या तीन-तीन जना मात्रै छ।

२०४० मा स्थापना भएको यस विद्यालयको कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या शून्य छ। हाल बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी मात्र अध्ययनरत छन्। विद्यालयमा स्थायी दरबन्दीकी शिक्षक शान्ति राम्जाली प्रधानाध्यापक छिन् भने शिखा बोहोरा क्षेत्री बालशिक्षा सहजकर्ता र सुर्जना रोका विद्यालय सहयोगीका रूपमा कार्यरत छिन्।

यहाँ अध्ययनरत विद्यार्थीमध्ये जेसिका खड्का यसपालि बालकक्षामा भर्ना भएकी हुन् भने नेलसन रोका र श्रीसा खड्का कक्षा २ उत्तीर्ण गरेर कक्षा ३ मा भर्ना भएका हुन्। बसाइँसराइको लहर र घट्दो जन्मदरका कारण विद्यालयमा यस्तो अवस्था आएको प्रधानाध्यापक राम्जालीले बताइन्।

‘विद्यालय आसपास पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवार मात्र बस्छन्,’ उनले भने, ‘विसं २०७२ सम्म १५-२० जनासम्म विद्यार्थी हुन्थे। नयाँ बच्चा जन्मिने दर घटेको र बसाइँसराइले गाउँ रित्तिँदै गएकाले यो समस्या आएको हो।’यसअघि विसं २०७५ मा कालीगण्डकीको बाढीले कोप्चेपानीमा रहेको विद्यालय भवन बगाएपछि यसलाई भालेबासमा सारिएको थियो।

हाल यहाँ सुविधायुक्त भवन, शौचालय र बालमैत्री कक्षाकोठा भए पनि विद्यार्थी नहुँदा विद्यालय सुनसान बन्ने गरेको छ। विद्यार्थी सङ्ख्या घटेपछि गत वर्ष गाउँपालिकाले यहाँको एक जना शिक्षकको दरबन्दी समेत कटौती गरेको थियो। स्थानीय बासिन्दा तुलाराम बुढाले बसाइँसराइकै कारण गाउँ रित्तिँदा विद्यालयमा असर परेको बताए।

‘छिमेकी गाउँ गाडपार र काभ्रेका विद्यालय पुग्न साना बालबालिकालाई करिब एक घण्टा पैदल हिँड्नुपर्छ,’ उनले भने, ‘गाउँमा बाँकी रहेका बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न सङ्ख्या कम भए पनि विद्यालय चलाउनुपर्ने बाध्यता छ।’

अन्नपूर्ण गाउँपालिकाभित्रका ठाडा, किन्दु, स्वाँत, घराप र चित्रेका आधारभूत विद्यालयहरूमा पनि विद्यार्थी सङ्ख्या निकै न्यून छ। भौगोलिक विकटता र छरिएका बस्तीका विद्यालयमा विद्यार्थी अभाव भएपछि कक्षा घटुवा गर्ने र दरबन्दी मिलान गर्ने नीति गाउँपालिकाले लिएको अध्यक्ष भारतकुमार पुनले बताए।

Skip This

Omoda E5 Pro