कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी


काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेका छन् ।

आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा आयकर, अन्तःशुल्क तथा भन्सार प्रणालीमा गरिएका सुधार विगत केही वर्षयताकै महत्वपूर्ण संरचनागत सुधार रहेको बताए । “केही वस्तुमा करसम्बन्धी सुधार गरिएको छ, कर प्रणालीलाई क्रमशः सरल र पारदर्शी बनाउँदै लगिएको छ”, उनले भने ।

बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक विधेयकमा संशोधन गरी करका दर परिवर्तन गरिएको भन्ने आरोप अस्वीकार गरे । उनले रगत तथा भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दर, शिक्षासम्बन्धी कर व्यवस्था तथा विद्युतीय सवारीसाधनमा रोड डेभलपमेन्ट शुल्कसम्बन्धी छुटेका विषय समेट्न संशोधन गरिएको स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठाइएका कर हेरफेर तथा अनियमिततासम्बन्धी आरोप निराधार रहेको बताए । बैठकमा जवाफ दिदैँ अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा देखिएका विषय नीतिगत परिवर्तन नभई कर्मचारीस्तरमा भएका सामान्य प्राविधिक त्रुटि सच्याउने काम मात्र भएको स्पष्ट पारे ।

उनले विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी कर संरचनाबारे स्पष्ट पार्दै ५० लाखसम्मका इभीलाई मध्यम वर्ग र युवाको पहुँचमा राख्ने उद्देश्यले रोड डेभलपमेन्ट शुल्कमा सहुलियत दिन खोजिएको बताए ।

“कुनै व्यापारीलाई गोप्य सूचना दिएर गाडी भन्सार पास गराइएको भन्ने आरोप तथ्यहीन छ”, उनले भने, “यदि कसैसँग त्यस्तो प्रमाण छ भने सार्वजनिक गर्नुस्, म जवाफ दिन तयार छु ।”

मन्त्री वाग्लले कर प्रशासन, भन्सार प्रणाली र राजस्व व्यवस्थापनमा देखिएका विकृति हटाएर सुशासन र पारदर्शिता कायम गर्ने दिशामा सरकार अघि बढिरहेको बताए ।

Skip This

Omoda E5 Pro