विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले छापा मारेको छ।
विराटनगर(३, ल क्याम्पसनजिकै रहेको मन्त्रीको निवासमा बिहीबार राति ११ बजेतिर प्रहरी टोलीले छापा मारेको हो । राति पर्खाल नाघेर प्रहरी घरभित्र छिरेको मन्त्रीको सचिवालयले जनाएको छ । यद्यपी मन्त्री पराजुली भने निवासमा थिएनन् ।
मोरङका प्रमुख जिल्ला अधिकार युवराज कटेलले भने कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त निवासमा पुगेको बताएका छन्। त्यहाँ पुगेको प्रहरीले मन्त्रीको निवास भन्ने जानकारी नपाएको कटेलको भनाइ छ ।
उनका अनुसार एकजना हत्याका अभियुक्त पहिले सोही घरमा कोठा भाडामा लिएर बस्ने सूचना पाएको र लुकिछिपेको हुनसक्ने भन्दै प्रहरी टोली रेकी गर्न पुगेको थियो ।
प्रहरी मन्त्रीलक्षित कारबाहीको लागि त्यहाँ नपुगेको उनले दाबी गरे । ‘प्रहरी टोली अभियुक्तकै पिछा गर्दै त्यहाँ पुगेको हो। मन्त्री लक्षित कारबाही थिएन, केवल शंकास्पद व्यक्तिको खोजी थियो,’ उनले भने ।
यस विषयमा धनकुटाबाट निर्वाचित एमालेका सांसद राजेन्द्र राईले आजको संसद बैठकमा यो विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।



प्रतिक्रिया