चलचित्र उद्योगले आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्नेतर्फ सबैको ध्यान जान जरुरी रहेको बताएका छन् ।

शुक्रबार आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा आफ्नो धारणा राख्दै उनले मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न चलचित्र क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक सौन्दर्य एवं सामाजिक जीवनलाई विश्व मञ्चमा चिनाउन चलचित्रले सेतुको काम गर्ने बताए। बदलिँदो परिवेशअनुरूप नीतिगत तथा कानुनी सुधारको आवश्यकता औँल्याउँदै उनले चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्‍याउन सरकारले आवश्यक सुविधा र सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए।

नेपाली चलचित्रले देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यस क्षेत्रलाई थप सुदृढ बनाउन सरोकारवालाहरूको ध्यान जानुपर्ने उनले बताए। कलाकार र प्राविधिकहरूले यसै क्षेत्रमा आफ्नो भविष्य सुरक्षित र आत्मसम्मानित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।