कोशी सरकार : प्रदेश प्रेस रजिष्ट्रार पदका लागि दरखास्त आह्वान,कति चाहिन्छ याेग्यता ?


विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश प्रेस रजिष्ट्रार पदका लागि दरखास्त आह्वान गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आफ्नो वैयक्तिक विवरणसहित आवेदन माग गरेको हो।

मन्त्रालयका अनुसार कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ को दफा १२ बमोजिमको काम, कर्तव्य र अधिकार रहने गरी प्रेस रजिष्ट्रार नियुक्तिका लागि यो प्रक्रिया अघि बढाइएको हो।

२०८३ असार ४ गतेको प्रदेश प्रेस रजिष्ट्रार सिफारिस समितिको निर्णयअनुसार असार ५ गते यो सूचना प्रकाशित गरिएको हो।

इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् असार ११ गतेसम्ममा कार्यालय समयभित्र मन्त्रालयको सञ्चार शाखामा आवश्यक कागजातसहित आवेदन पेस गरिसक्नुपर्नेछ।

कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ को दफा ११ बमोजिम प्रेस रजिष्ट्रार पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी पत्रकारिता, सञ्चार, सूचना प्रविधि वा कानुनको क्षेत्रमा कम्तीमा १२ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको, उमेर ३५ वर्ष उमेर पूरा भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको, नियुक्ति हुँदाका बखत कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र कुनै पनि विषयमा कालोसूचीमा नपरेको र प्रचलित कानुनले अयोग्य नठहरिएको व्यक्ति योग्य हुने व्यवस्था छ ।