संविधानमा धेरै कुरा अधुरा र अपूर्ण छन् : उपेन्द्र यादव


चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकले अहिले मुख्य रूपमा सुशासन र सामाजिक न्याय खोजिरहेको बताएका छन् ।

चितवनमा आइतबार आयोजित रास्वपाको ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नयाँ सुरुवात र नयाँ दिशामा मुलुक लैजान रास्वपालाई सफलताको शुभकामना व्यक्त गरे ।

वर्तमान संविधानमा संघीयता र गणतन्त्रजस्ता महत्वपूर्ण पक्षहरू समावेश भए तापनि धेरै ठाउँमा यो अपूर्ण र अमूर्त रहेको उनले बताए । उनले संविधानमा रहेका विसंगतिहरूलाई हटाउन यसको परिमार्जन र संशोधन आवश्यक रहेको औंल्याउँदै त्यसका लागि रास्वपासँग ऐतिहासिक जिम्मेवारी रहेको स्मरण गराए ।

‘संविधान सभाबाट संविधानको घोषणा गरियो । त्यो संविधान त्रुटिपूर्ण, अधुरो र अपूरो रहेको छ । विरोधाभास रहेको छ । निश्चित रुपमा महत्वपूर्ण आयाम पनि यसमा छन् । संघीयता, गणतन्त्र, समावेशीता, धर्म निरपेक्षताजस्ता महत्वपूर्ण पक्ष रहे पनि धेरै कुरा अधुरा र अपूर्ण रहेका छन्,’ यादवले भने, ‘आजको आवश्यकता संविधानलाई संशोधन गरी, परिमार्जन गरी विकृति र विसंगतिलाई हटाएर संशोधन गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी यहाँहरूमाझ आइपरेको छ ।’