यो सरकार एक्सप्रेस गाडी हो,यो अनियन्त्रित पनि छैन : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री समेत रहेका रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले आफ्नो नेतृत्वमा रहेको सरकार लोकल नभएर एक्सप्रेस गाडी रहेको बताएका छन् ।

आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना व्यक्त गर्न पुगेका केही वक्ताले सरकारलाई एक्सिलेटर मात्र होइन, ब्रेक पनि लगाउनुपर्छ भनेर सुझाव दिएपछि त्समाथि उनले टिप्पणी गर्दै यो सरकार लोकल नभएर एक्सप्रेस गाडी भएको बताएका हुन् ।

‘सरकार भनेको गाडीजस्तो हो, ब्रेक पनि लाउनुपर्छ भनेर धेरैले चिन्ता व्यक्त गर्नुभएको छ । लोकल रोडहरुमा हिँड्दाखेरि यो ठीक कुरा हो । तर हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो । यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यभन्दा अगाडि ब्रेक लगानुपर्दैन । यो अनियन्त्रित पनि छैन,’ प्रधानमन्त्री बालेनले भने ।