काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको विचार रक्षात्मक नभई गतिशीलतामा आधारित रहेको तर्क गरेका छन्। आइतबार राजधानीमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा उनले भण्डारी जीवितै रहेको भए बदलिँदो परिस्थिति र समाजवादको नयाँ चरणअनुसार पार्टीका नीति तथा कार्यक्रम परिमार्जन गरिसक्ने दाबी गरे।
भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित उक्त कार्यक्रममा संयोजक दाहालले भण्डारीलाई अत्यन्तै गतिशील, सिर्जनशील र परिस्थितिको सटीक विश्लेषण गर्न सक्ने दूरदर्शी नेताका रूपमा स्मरण गरे।
विगतको अन्तर्राष्ट्रिय परिदृश्यलाई कोट्याउँदै दाहालले सोभियत सङ्घको विघटन र पूर्वी युरोपमा समाजवादी सत्ताहरू ढलेको त्यो कठिन कालखण्डमा भण्डारीले चालेको कदमको उच्च प्रशंसा गरे। विश्वभर कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खाएका बेला नेपालमा आन्दोलनलाई जीवन्त राख्न भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ले ऐतिहासिक र सर्वसम्मत भूमिका खेलेको उनको भनाइ थियो।
संयोजक दाहालले मार्क्सवाद कुनै अपरिवर्तनीय धर्मशास्त्र नभई निरन्तर विकास हुने विज्ञान भएको उल्लेख गर्दै लेनिन र एंगेल्सको सिद्धान्तलाई उद्धृत गरे। परिवर्तन र द्वन्द्ववादबाहेक संसारमा अरू केही पनि निरपेक्ष नहुने भन्दै उनले कम्युनिस्ट आन्दोलनभित्र हुर्कँदै गएको संकीर्णतामाथि प्रहार गरे। मार्क्सवादलाई सार्वकालिक र अकाट्य सत्य मान्नु गैरमार्क्सवादी चरित्र भएको दाहालको जिकिर थियो।
नेपाली कम्युनिस्ट आन्दोलन धेरैजसो जडता र यान्त्रिकतामा फस्ने गरेको स्वीकार्दै दाहालले अब नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताए।
यसैबीच, दाहालले पुँजीवादी जनवादी क्रान्ति नेपाली मौलिकतामा आधारभूत रूपले पूरा भइसकेको विश्लेषण गर्दै अब नेपाली समाज समाजवादको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गरे।
नयाँ संविधान निर्माण गर्दा नै राज्यलाई समाजवादोन्मुख भनी लिपिबद्ध गरिएको स्मरण गर्दै उनले विगतको पृष्ठभूमि र वर्तमानको आवश्यकताबीच सन्तुलन मिलाउन वैचारिक मन्थन जरुरी रहेको औंल्याए। ‘हिजो कुन उद्देश्यले के भनिएको थियो र आज किन विकास गर्नुपर्नेछ भन्ने विषयमा अब खुला छलफल हुनुपर्छ,’ दाहालले जोड दिए।
दाहालको यो अभिव्यक्तिले नेकपाभित्र आगामी दिनमा वैचारिक परिमार्जन र जबजको पुनर्व्याख्याको बहसलाई पुनः ब्युँताइदिने संकेत गरेको छ।



प्रतिक्रिया