काठमाडौं, असार १४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताएका छन् । आइतबार काठमाडौंमा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले आफूहरूलाई कमजोर नठान्न चेतावनी दिए ।
उनले आफूहरु धुलो टक्टक्याएर फेरि उठ्ने बताए । उनले भने, ‘हामीले देश बर्बाद पारेका होइनौँ। झुटा प्रचार गरेर हामीलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने काम गरियो । हामी अहिले लडेका छौँ, तर मरेका होइनौँ। फेरि उठ्छौँ, प्रतिगमनवादीहरूसँग लड्छौँ र पराजित गर्छौँ। हाम्रो विजय अवश्यम्भावी छ ।’
उनले वर्तमान सरकार प्रतिगमनको उपज भएको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यका साथ वैधानिक सरकार हटाइएको दाबी गरे।
ओलीले एमालेविरुद्ध झुटा प्रचार, अफवाह र चरित्रहत्या गरेर जनतामा भ्रम सिर्जना गरिएको आरोप पनि लगाए।
उनले वर्तमान सरकारले संविधानविपरीत अध्यादेश ल्याएको, श्रमिक अधिकार कमजोर बनाएको तथा राष्ट्रिय हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गरे।
उनले जननेता मदन भण्डारीले छोटो समयमै नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदान दिएको बताए। ओलीले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासन पतनपछि विश्वभर कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गरे ।
ओलीले एमालेको गन्तव्य ’समृद्ध नेपाल, सुखी नेपाली’ भएको उल्लेख गर्दै त्यसलाई नै समाजवादको व्यावहारिक स्वरूपका रूपमा व्याख्या गरे।



प्रतिक्रिया