आज किसान खेतमा, कृषिमन्त्री थाइल्यान्डमा


काठमाडौं, असार १५ । नेपालमा आज धान दिवस मनाइरहदा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी थाइल्यान्ड पुगेकी छन् । ब्याङककमा आजदेखि आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार थाइल्यान्ड पुगेको हो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पाँचदिने सम्मेलनका क्रममा आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूचीबीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्वसम्मेलनको उच्चस्तरीय सत्र’ मा उनी सहभागी हुने छिन् ।

सम्मेलनमा जलवायु परिवर्तनका असर घटाउने, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्यसँगको सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुने छ । उनी ‘वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय अधिवेशन’मा सहभागी हुने कार्यक्रम रहेको छ।

उक्त सत्रमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोग्नुपरेका विशिष्ट चुनौतीहरू र हरित विकासका लागि नेपालले गरेका प्रयासहरूबारे विश्व समुदायको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।

त्यसैगरी, मन्त्री चौधरीले असार १७ देखि १९ गतेसम्म बैंककमै आयोजना हुने ‘वातावरण तथा विकास सम्बन्धी समितिको मन्त्रीस्तरीय नवौँ सत्र’ मा समेत नेपालको तर्फबाट सम्बोधन गर्नेछिन् ।

मन्त्रीस्तरीय यस बैठकमा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्रको प्रवद्र्धन र दिगो विकासका साझा चुनौतीहरूका विषयमा छलफल हुनेछ ।