कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छः मुख्यमन्त्री कार्की


विराटनगर, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताएका छन् ।

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा आज दिएको शुभकामना सन्देशमा उहाँले नेपालीको मौलिक पर्वका रूपमा स्थापित यस दिवसमा धान रोपाइँ, असारे भाका, दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री कार्कीले भनेका छन्, “पछिल्लो समय युवा जनशक्ति वैदेशिक पलायन र बसाइँसराइले खेती योग्य जमिन बाँझो हुँदा कृषि उत्पादनमा गम्भीर असर परेको छ ।”

आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । रासस