डिजिटल संक्रमणमा नेपाली पत्रकारिताः प्रविधिको छलाङ कि साक्षरताको अनिकाल ?


लक्ष्मीप्रसाद न्यौपाने

वर्तमान नेपाली समाज परम्परागत मिडियाको स्थापित एकाधिकारलाई भत्काउँदै ‘न्यू मिडिया’ र ‘डिजिटल इकोसिस्टम’को तीव्र संक्रमणकालीन युगबाट गुज्रिरहेको छ। चिया पसलका बहसहरू फेसबुकका ‘कमेन्ट बक्स’ र टिकटकका लाइभमा सरेका छन् भने छापा पत्रिका र टेलिभिजनका ठूला स्क्रिनहरू मानिसका हत्केलामा रहेका स्मार्टफोनमा खुम्चिएका छन्। इन्टरनेटको विश्वव्यापी विकासक्रममा वेब १.० को एकतर्फी र स्थिर ढाँचालाई विस्थापित गर्दै सन् २००४ को आसपासबाट सुरु भएको वेब २.० को अन्तरक्रियात्मक क्रान्तिले आम उपभोक्तालाई सामग्री उत्पादक र नागरिक पत्रकारितामा रूपान्तरण गरिदिएको छ। यही प्रविधिको जगमा उभिएर आज समकालीन नेपाली पत्रकारिता मोबाइल पत्रकारिता र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता अत्याधुनिक आयामहरूसम्म विस्तारित भइसकेको छ। तर, प्रविधिको यो संख्यात्मक र प्राविधिक छलाङले समाजमा चेतनाको नयाँ आयातन थपेको छ कि भ्रामक सूचनाको एउटा नयाँ संकट ? यो प्रश्न यतिबेला मेरो विचार र अनुसन्धानको मुख्य केन्द्र बनेको छ।

ऐतिहासिक रूपमा हेर्दा, सन् १९९५ मा ‘द काठमान्डू पोष्ट’को वेब संस्करण र सन् २००० मा ‘नेपालन्यूज डटकम’को स्थापनासँगै नेपालमा डिजिटल पत्रकारिताको औपचारिक प्रस्थानविन्दु तय भएको हो। विशेषगरी सन् २००६ को जनआन्दोलन र संकटकालका बेला छापा र प्रसारण माध्यममा लगाइएको शाही सेन्सरसिपविरुद्ध अनलाइन मिडियाहरू वैकल्पिक, स्वतन्त्र र द्रुत सूचनाको एक मात्र ‘लाइफलाइन’का रूपमा उदाए। त्यसयता मिडिया कन्भर्जेन्सको लहर यसरी फैलियो कि जसले परम्परागत विधागत सीमाहरूलाई पूर्णरूपमा धमिलो बनाइदियो। आज परम्परागत मिडिया हाउसहरू स्थिर वा बन्द हुने अवस्थामा पुग्दा अनलाइन सञ्चारमाध्यमको ग्राफ भने ज्यामितीय रूपमा उकालो लागेको छ। प्रेस काउन्सिल नेपालको हालैको प्रतिवेदनअनुसार नेपालमा सूचीकृत अनलाइन न्यूज मिडियाको संख्या मात्रै ५,००० नाघिसकेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको नयाँ तथ्याङ्कअनुसार नेपालमा सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या कुल जनसंख्याको लगभग ५५ प्रतिशत हिस्सा पुगिसकेको छ।

तर, यो प्रविधिको पहुँचसँगै पत्रकारिताको गुणस्तर र समाजको साइबर सुरक्षामा ठूलो चुनौती थपिएको छ। नेपाली मिडिया हाउसहरू व्यावसायिक रूपमा आर्थिक सङ्कटमा पर्दा ‘क्लिकबेट’ हेडलाइन र सेन्सेसनल ‘भाइरल कन्टेन्ट’को उत्पादनमा विकराल वृद्धि भएको छ। यसले पत्रकारिताको मुख्य धर्म ‘गेटकिपिङ’ र तथ्य जाँचलाई पूर्णत: ओझेलमा पारेको छ। परिणामस्वरुप समाजमा फेक न्यूज द्वेषपूर्ण अभिव्यक्ति र सुनियोजित भ्रामक सूचनाको महामारी फैलिएको छ। अनलाइन ठगी, चरित्रहत्या र फेक अकाउन्टमार्फत गरिने साइबर बुलिङका उजुरीहरू वर्षैपिच्छे दोब्बर भइरहेका छन्, जसको नकारात्मक असर युवा पुस्ताको मानसिक स्वास्थ्यमा परिरहेको छ।

यो संवेदनशीलतालाई बुझेर राज्यले कानुनी र नीतिगत रूपमा निकै ठूला फेरबदलहरू गर्न थालेको छ। नेपालको संविधानको धारा १७ (विचार र अभिव्यक्तिको स्वतन्त्रता) र धारा १९ (सञ्चारको हक) लाई सुरक्षित राख्दै अनलाइन नियमनलाई कडाइ गरिएको छ। सरकारले छापाखाना तथा प्रकाशन ऐनमा गरेका हालैका संशोधनहरू र प्रेस काउन्सिल नेपालले अनलाइन न्यूज पोर्टलहरूको सूचीकरण प्रक्रिया र पत्रकार आचारसंहिता, २०७३ को आधारमा कडा मिडिया अनुगमन गरिरहेको परिवेश हाम्रासामु छ। तर विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को त्रास देखाएर वा कानुनी नियन्त्रण गरेर मात्र यो डिजिटल अराजकता रोक्न सम्भव छैन, बरु यसले प्रेस स्वतन्त्रता र नागरिकको लोकतान्त्रिक अधिकारलाई नै कुण्ठित गर्ने जोखिम रहन्छ।

डिजिटल संक्रमणको स्थायी र वैज्ञानिक समाधान भनेको राज्यको नियन्त्रणमुखी नीति नभएर मिडिया साक्षरता र दृश्य साक्षरताको राष्ट्रिय अभियान नै हो । मिडिया साक्षरता भनेको सूचनाको प्राविधिक पहुँचमा हुनु मात्र होइन, बरु मिडिया सामग्री कसले, कुन नियतले र कुन पूर्वाग्रहका साथ बनाएको हो भनी विश्लेषण र मूल्याङ्कन गर्न सक्ने नागरिक चेतना हो। जब पाठक र उपभोक्ता स्वयं मिडिया साक्षर हुन्छन्, तब उनीहरूले सामाजिक सञ्जालमा देखिने ‘थम्बनेल’ वा अफवाहको पछि नलागी तथ्य जाँच  गर्न थाल्छन्। साक्षर उपभोक्ताले गुणस्तरीय समाचार मात्र रोज्ने हुँदा मिडिया हाउसहरू पनि सस्तो प्रोपागान्डा र भ्रम बेच्न छोडेर खोजमूलक र उत्तरदायी पत्रकारिता गर्न बाध्य हुनेछन्।

न्यू मिडिया नेपाली समाजका लागि वरदान हो, तर यसको अमर्यादित र असाक्षर प्रयोगले समाजको जग नै भत्काउन सक्छ। बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार ऐन, २०५९ को कडा पालना गर्दै, रचनात्मक प्रयोगकर्ताको स्वनियमनलाई बढावा दिनु आवश्यक छ। विद्यालय र विश्वविद्यालय तहको पाठ्यक्रममै मिडिया र डिजिटल साक्षरतालाई अनिवार्य रुपमा समावेश गर्न जरुरी छ ।

डिजिटल संक्रमणकालमा देखिएका बेथितिहरूलाई जरैदेखि सुधार्न ध्यानयोग एउटा सशक्त र व्यावहारिक माध्यम बन्न सक्छ। आजको तीव्र गति र ‘भाइरल’ हुने होडबाजीले पत्रकारहरूमा धैर्य र पाठक–दर्शकमा पनि विवेकको खडेरी पैदा गरिदिएको छ। यस्तो अवस्थामा ध्यानयोगले मानव मस्तिष्कलाई उत्तेजना र तत्काल प्रतिक्रिया जनाउने बानीबाट मुक्त गरी आत्मअनुशासनतर्फ डोर्‍याउँछ। जब पत्रकार वा सामग्री उत्पादक नियमित ध्यानको माध्यमबाट मानसिक रूपमा शान्त र सजग बन्दछन्, तब उनीहरूमा क्षणिक ‘भ्यूज’ र ‘क्लिक’को लोभभन्दा माथि उठेर सत्य र तथ्यको खोजी गर्ने व्यावसायिक इमानदारिता जागृत हुन्छ। ध्यानयोगले डिजिटल युगका विकृतिहरूलाई आन्तरिक रूपमै रूपान्तरण गरी एक स्वस्थ, मर्यादित र उत्तरदायी पत्रकारितामार्फत समाज निर्माणमा मद्दत गर्दछ। त्यसैले उत्तरदायी पत्रकारिताका लागि ध्यानयोग र आत्मअनुशासनको मार्ग पहिल्याउन अपरिहार्य आवश्यक छ ।

(लेखक लक्ष्मीप्रसाद न्यौपाने आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थी पनि हुन्।)