राहदानी विभाग अगाडि एक युवाले आत्मदाहको प्रयास गर्नुको कारण खुल्यो


काठमाडौँ त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं। ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् ।

प्रहरीका अनुसार उनी पेसाले पठाओ (राइड सेयरिङ( चालक रहेको र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि आवेशमा आएर उनले यस्तो कदम चालेको पाइएको प्रहरी स्रोतले बतायो ।

उनले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए । महानगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा राखेको भन्दै उनको मोटरसाइकलमा साँचो (ह्वील लक) लगाएपछि उनी आक्रोशित बनेर विवाद पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बिहीबार दिउँसो करिब १:४५ बजेको समयमा काठमाडौँ महानगरपालिका-११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै ती युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।

हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ । उनको शरीरका विभिन्न भाग जलेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।