काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री बानियाँले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । भेटका क्रममा अध्यक्ष सिटौलाले बागमती प्रदेश, विशेषगरी काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या, सडक दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई दिइने क्षतिपूर्ति र घाइतेहरूको उपचारका क्रममा आइपर्ने व्यावहारिक कठिनाइहरू समाधानका लागि सहजीकरण गरिदिन प्रदेश सरकारसमक्ष आग्रह गरेका थिए ।
अध्यक्ष सिटौलाले हाल दुर्घटनाका घाइतेहरूको महँगो निजी अस्पतालमा उपचार गर्नुपर्ने बाध्यता रहेको र बिमाबाट ३ लाख रुपैयाँ मात्र क्षतिपूर्ति प्राप्त हुने भएकाले व्यवसायीहरू समस्यामा परेको गुनासो गरे ।
सो गुनासो र आग्रहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रका बहुआयामिक समस्या समाधानका लागि व्यवसायीहरूसँग मिलेर अघि बढ्न सरकार तयार रहेको बताए । घाइतेहरूको उपचार सहज बनाउन प्रदेश सरकार मातहतका अस्पतालहरूमा ट्रमा सेन्टरको विकास गरिने उनले जानकारी दिए।



प्रतिक्रिया