जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

शनिबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले पक्राउ परेकाहरूलाई तत्काल निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।

माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवामाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिइएको घटना अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको उनले बताएका छन् ।

थापाले लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यसको जवाफ गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने बताएका छन् । सरकार विधिको शासनप्रति प्रतिबद्ध हुन फरक मत र आलोचना सुन्ने क्षमता आवश्यक रहेको उनको भनाइ छ ।

उनले आलोचनालाई दमनबाट नभई संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी नभई सत्ताको चरम कायरता भएको टिप्पणी गरेका छन् ।