कान्तिपुरको गेटमा राखिएको गाडी रास्वपा नेताकाे


काठमाडौं । आज(सोमबार) बिहान काठमाडौँका विभिन्न स्थानमा रहेको तीन मिडिया हाउसको गेटमा शंकास्पद रुपमा गाडी राखेको पाइएको छ । त्यसबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । यसैबीच कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको पाइएको छ ।

उक्त गाडी सानिमा बैंकको नाममा दर्ता रहेको भए पनि जयसवालले चढ्ने गरेको भेटिएको हो। जयसवाल रौतहट निवासी हुन् । उनी एमालेबाट रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवारका छोरा हुन् ।

केही महिना अगाडिमाबै रास्वपामा प्रवेश गरेका उनले एक् महिना अगाडिमात्रै गाडी किनेको मेयर कन्थमणिले जानकारी दिए । ‘हो, उक्त नम्बरप्लेट (बा ०१–०३४ च ८४८०) को गाडी मेरो छोरा (रवि) ले चढ्ने गरेको थियो । करिब एक महिना जति भयो गाडी किनेको,’ उनले भने । उक्त गाडी अहिलेसम्म पास गरि नसकेको र बैंककै नाममा रहेको उनले बताए ।

उनलाई रास्वपाले गत जेठ ८ गते केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो । उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले मनोनीत गरेका थिए ।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट अगाडि शंकास्पद गाडी राखिएको थियो ।

प्रहरीले ती गाडीहरू क्रेनको मद्दतबाट उठाइसकेको छ । यद्यपि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।