जोर्डनमा अमेरिकी लडाकु विमान ध्वस्त भएको इरानको दाबी


काठमाडौं । इरानले जोर्डनमा अमेरिकी लडाकु विमान ध्वस्त बनाएको दाबी गरेको छ । इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोनबाट व्यापक आक्रमण गरी कैयौँ अमेरिकी लडाकु विमान तथा इन्धन भर्ने ट्यांकर विमानहरू ध्वस्त पारेको दाबी गरेको हो । 

इरानका अनुसार उक्त आक्रमणमा अन्य कैयौँ अमेरिकी विमानहरूमा पनि गम्भीर क्षति पुगेको छ । यद्यपि, इरानको यो दाबीलाई अमेरिका र जोर्डन दुवैले अहिलेसम्म पुष्टि गरेका छैनन् ।

जोर्डनको सेनाले भने आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा मिसाइललाई बीचमै खसालिएको जनाएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको एयरोस्पेस फोर्सले विज्ञप्ति जारी गर्दै यो आक्रमण ‘अपरेसन नस्र–२’ को १४औँ चरणअन्तर्गत गरिएको जनाएको छ । 

आईआरजीसीका अनुसार दुई चरणमा गरिएको आक्रमणमा कैयौँ ब्यालिस्टिक मिसाइल र ठूलो संख्यामा ड्रोन प्रयोग गरिएको थियो । जोर्डनमा तैनाथ अमेरिकी सैन्य विमानहरूलाई लक्षित गरिएको दाबी इरानको सरकारी टेलिभिजनले पनि गरेको छ । 

अमेरिकाले पनि आफ्ना कुनै सैन्य विमान वा अड्डामा क्षति पुगेको पुष्टि गरेको छैन । त्यसैले इरानको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । एनडीटीभी