संघीय संसद्‍मा कमजोर संख्याः तर धारिलो बन्ने एमालेको दाउ


काठमाडौँ । प्रतिनिधिसभाको अंकगणितमा तेस्रो दलमा खुम्चिएपछि संसद्भित्र नेकपा एमाले लगातार आफ्नो उपस्थिति बलियो बनाउने दबाबमा छ। २७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा २५ सिटमा सीमित एमालेले राष्ट्रिय सभाका १० जनासहित आफ्ना कुल ३५ सांसदलाई संसदीय भूमिका प्रभावकारी बनाउन भन्दै विशेष प्रशिक्षणमा उतारेको छ।

एमाले संसदीय विभागको आयोजनामा शुरु भएको यो अन्तर्क्रिया संसदीय प्रक्रिया सिकाउने प्राविधिक कक्षा मात्र होइन, बरु बदलिएको राजनीतिक समीकरणमा संसद्‍भित्र एमाले कसरी प्रस्तुत हुने भन्ने रणनीतिक ‘स्कुलिङ’ पनि हो।

संसद्‍मा पार्टीको भूमिकालाई थप धारिलो र प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेता रामबहादुर थापा आफैँ उपस्थित भएर सांसदहरूलाई राजनीतिक निर्देशन दिनेछन्।

पछिल्लो समय संसद्‍मा एमालेका सांसदहरूको प्रस्तुति र विधेयकहरूमाथिको टिप्पणीमा परिपक्वता नदेखिएको गुनासो पार्टीभित्रै उठ्ने गरेको थियो। संख्यात्मक रूपमा कमजोर भए पनि गुणात्मक रूपमा सरकारलाई संसद्‍मै घेराबन्दी गर्ने एमाले रणनीति देखिन्छ। प्रशिक्षणमा महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र सांसदहरूको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै वैचारिक स्पष्टता ल्याउने प्रयास गरेका छन्।

एमालेले आफ्ना सांसदहरूलाई संसदीय प्रक्रियाको नियमावली मात्र घोकाउन खोजेको छैन, बरु अनुभवी विज्ञहरू प्रयोग गरेर संसद्‍मा ‘कन्टेन्ट’ कसरी प्रस्तुत गर्ने भन्ने सिकाउन खोजेको छ। शून्य समय, विशेष समय र समितिहरूमा सांसदहरूले राख्ने धारणा कसरी जनमुखी र सञ्चारमाध्यममा आउने खालका बनाउने भन्नेमा एमालेको जोड देखिन्छ।

यस कार्यक्रममा संसदीय विभागका प्रमुख र पूर्वसांसदहरूलाई समेत बोलाइएको छ, जसको अर्थ पुराना अनुभवी नेताहरूको अनुभवलाई नयाँ सांसदहरूसँग जोड्नु हो। आगामी संसद् बैठकहरूमा एमाले सांसदहरूको प्रस्तुति कस्तो रहन्छ, त्यसैबाट यो प्रशिक्षणको वास्तविक परीक्षा हुनेछ।