काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेशमा पनि आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रमुख प्रतिपक्षीविहीन प्रदेशसभाको परिकल्पना नगरेका बताए ।
प्रदेश सरकारमा देखिएका समस्या समाधानका लागि संवादहरू जारी रहेको उनले बताए । ‘आन्तरिक रूपमा संवाद भइरहेका छन् । हाम्रो बटमलाइन भनेको कुनै पनि प्रदेशसभा प्रतिपक्ष विहीन बन्नु हुँदैन भन्ने हो ,’ उनले भने ।
शर्माले कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्न नहुने धारणा व्यक्त गर्दै संविधानको मूल मर्मलाई जोगाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन । वर्तमान संविधान निर्माण गर्दैगर्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिमा संविधान संशोधनको छलफल पनि चलिरहेको बेलामा त्यसको मूल मर्मलाई भंग गर्न मिल्दैन । प्रदेशगत सरकारहरूको सन्दर्भमा उब्जिएका प्रश्नहरूको समस्याको एउटा चुरो त्यहीँसँग सम्बन्धित छ । आवश्यक परेको खण्डमा कांग्रेस प्रतिपक्षमा बस्न पनि तत्पर हुन्छ । तर नागरिकको अभिमतभन्दा बाहिर गएर सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता राख्दैन ।’




प्रतिक्रिया