काठमाडौँ । ‘रोटी–बेटी’ र सनातन सभ्यताको साझा धरोहरका रूपमा व्याख्या गरिने नेपाल–भारत सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ सरकारको गठनसँगै पुनः कूटनीतिक सरगर्मी बढेको छ। रास्वपा नेतृत्वको सरकार गठन भएको सय दिन पूरा भएलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिलो वैदेशिक भ्रमणको गन्तव्य छिमेकी मुलक भारत नै हुने निश्चितप्रायः भएको छ।
भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहे पनि प्रधानमन्त्री बालेनको भारत यात्राको तयारी कूटनीतिक संयन्त्रभित्र तीव्रताका साथ अघि बढेको परराष्ट्र स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री बालेनको पहिलो विदेश यात्रा जापानबाट हुनसक्ने चर्चा चलेको भए पनि अन्ततः प्रधानमन्त्रीको पहिलो वैदेशिक भ्रमण भारतबाटै शुरु हुने भएपछि परम्परागत कूटनीतिक परिपाटीले नै निरन्तरता पाउने देखिएको छ।
फागुन २१ को निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र बालेन शाहलाई दिएको बधाई तथा टेलिफोन संवादले दुई देशबीचको सम्बन्धलाई नयाँ ढङ्गबाट अघि बढाउने प्रारम्भिक आधार तय गरेको थियो।
चैत अन्तिम साता मौरिससमा सम्पन्न एक अन्तर्राष्ट्रिय मञ्चमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच भएको उच्चस्तरीय भेटघाट र त्यसपछिका अभिव्यक्तिहरूले बालेन सरकार भारतसँगका पुराना तथा अड्किएका एजेन्डामा परिपक्व ढङ्गले प्रस्तुत हुन खोजेको सङ्केत गर्छन्।
नवौं हिन्द महासागर सम्मेलनका क्रममा चैत्र अन्तिम साता मौरिससमा रहँदा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय अनलाइन विअन (डब्लुआइओएन) सँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउँदा नै भ्रमणको निम्ता पठाएको र त्यसमा नेपाल सरकारले सैद्धान्तिक सहमति जनाएको बताएका थिए ।
यसैबीच, भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बालेनले कूटनीतिक सन्तुलन मिलाउने प्रयाससमेत थालेका छन्।

यसअघि सिंहदरबारमा विदेशी राजदूत तथा कूटनीतिज्ञहरूसँग सामूहिक भेटघाट गरेका प्रधानमन्त्री बालेनले भारत प्रस्थान गर्नुअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग द्विपक्षीय सम्बन्ध सुधारका विविध आयामबारे छलफल गर्ने तयारी गरेको परराष्ट्र स्रोतले जनाएको छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री बालेनले यसै साता भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गर्दैछन् । भारतीय राजदूत श्रीवास्तवले ऊर्जा व्यापार र डिजिटल भुक्तानी प्रणालीको सहजीकरण, सामुदायिक एवं पूर्वाधार विकास आयोजनाको द्रुत कार्यान्वयन, विपद् व्यवस्थापनमा राहत, समन्वय र निरन्तर उच्चस्तरीय राजनीतिक संवादमार्फत नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण कूटनीतिक भूमिका निर्वाह गरेको भनेर नेपालमा श्रीवास्तवको प्रशंसा हुँदै आएको छ ।
श्रीवास्तवसँगको भेटलगत्तै प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति सार्वजनिक हुने परराष्ट्र स्रोतले जनाएको छ ।
यसैगरी, नेपालस्थित चिनियाँ राजदूत चाङ माओमिङसँग पनि प्रधानमन्त्री बालेनले भेटघाट गर्ने जनाइएको छ ।
यसैबीच,परराष्ट्र मन्त्रालयले सरकार कुनै हतारमा प्रधानमन्त्री बालेनको भारत भ्रमण तय गरेर खाली हात फर्किने पक्षमा नरहेको दाबी गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सरकार यतिबेला भारत भ्रमणका लागि आन्तरिक प्राथमिकताहरू तय गर्नमा केन्द्रित छ। तर, सरकारका आधिकारिक निकायहरूले भने भ्रमणको मिति अझै यकिन नगर्नुले नेपालको कूटनीतिक सञ्चार प्रणालीमा पारदर्शी र संस्थागत समन्वयको कमी रहेको स्पष्ट झल्काउँछ। कूटनीतिक जानकारहरू यसलाई ‘नेपालको कूटनीतिक अपरिपक्वता’को संज्ञा दिन्छन् ।
परम्परागत कूटनीतिभन्दा फरक शैली र नतिजामुखी कार्यशैलीको भारी अपेक्षा बोकेर सत्तामा पुगेका प्रधानमन्त्री बालेन शाहका लागि भारत भ्रमण सामान्य औपचारिकता र शिष्टाचारमा मात्र सीमित हुन नहुनेमा कूटनीतिज्ञहरुले जोड दिएका छन् ।
नयाँ सरकारसामु द्विपक्षीय हित र सीमा तथा व्यापारजस्ता संवेदनशील विषयहरूमा परिपक्व ढङ्गले आफ्ना एजेन्डा प्रस्तुत गर्ने ठूलो चुनौती र अवसर दुवै छ।
भ्रमणको समय र मिति कूटनीतिक संयन्त्रले टुंग्याउने भए तापनि भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेनले द्विपक्षीय एजेन्डा, राष्ट्रिय हित र आन्तरिक प्राथमिकतामा पूर्णतः स्पष्ट र तयार रहनु अपरिहार्य देखिन्छ।




प्रतिक्रिया