बारामा कांग्रेसको दुई समूहबिच ढुङ्गामुढा


बारा । बारामा नेपाली कांग्रेसको दुई समूहबिच झडप भएको छ । तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट पक्षका कार्यकर्ताहरूबिच झडप भएको बारा कांग्रेसका एक नेताले बताए ।

पार्टीको केन्द्रीय अनुशासन विभागले तत्कालीन सभापति यादवलाई कारबाही गरेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो ।

साउन ६ गते पर्ने बीपी कोइरालाको स्मृति दिवसको पूर्वतयारी स्वरूप आज पार्टी कार्यालय सरसफाइ गर्न भट्ट समूहका समर्थकहरू पुगेपछि दुई पक्षबिच झडप भएको हो ।

पार्टी कार्यालयमा प्रवेश गर्न रोकिएपछि दुवै समूहबिच धकेलाधकेल र ढुङ्गामुढासमेत भएको थियो । झडपका क्रममा केही कार्यकर्ता सामान्य घाइते भएका छन् ।

हाल विवाद समाधानका लागि पार्टी कार्यालयमा दुवै समूहबिच छलफल भइरहेको जनाइएको छ।