प्रधानमन्त्री लक्षित गगनकाे टिप्पणी- ‘ब्रेक’ नहुनेले प्रतिपक्ष चलाउने हाे


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको बताएका छन्।

बुधवार बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौड कार्यक्रममा सहभागी भएपछि आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र साहले रास्वपाको चितवन महाधिवेशनमा बालेको अभिव्यक्तिलाई जोड्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिएका थिए। कांग्रेस सभापति थापाले सोही भनाइलाई लक्षित गर्दै पार्टीले आयोजना गरेको ग्रीन रन दौडसँग तुलना गरेका हुन्।

‘आज बिहान हामी सबै जना सँगसँगै दौडियौं, म पनि ५ किलोमिटर एकछिन पनि विराम नगरी दौडिएँ, मसँगै दौडिँदै गरेका एक जना साथीले भन्नुभयो – दाइले पनि दौडिँदै गर्दा ब्रेक नलगाई दौडिनु हुँदो रहेछ। सँगैको अर्को साथीले भन्नुभयो, कुरा एक दम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो। मैले पनि ठिकै छ यसपालि यस्तै हो भनेँ,’सभापति थापाले बताए ।

सभापति थापाले नेपाली कांग्रेसले अब बीपी कोइरालाका सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने बताए । जलवायु परिवर्तनलाई नेपालको विकासको मूल एजेन्डा बनाउने उद्देश्यले पार्टीले विज्ञहरूसँग छलफल सुरु गरेको र त्यसबाट आएका सुझावलाई नीति निर्माणमा समेटिने उनले प्रतिबद्धता जनाए ।