गच्छदारले सभापति थापालाई भने-‘सबैलाई सहमतिमा ल्याएर १५ औँ महाधिवेशन गर्नुस्’


काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपभासपति विजयकुमार गच्छदारले सभापति गगन थापासँग कांग्रेसको आत्मा नभएको बताएका छन् । बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘म सबैलाई आह्वान गर्दछु, कांग्रेस यहाँ छ। कांग्रेसको भावना र आत्मा यहाँ छ! सभापति गगन थापाज्यू, कांग्रेसमा ठुलो त्याग र बलिदान गरेका नेताहरू तपाईँभन्दा बाहिर छन्,’ उनले भने ।

सभापति थापा आफ्नो पुत्रसमान भएको बताउँदै उनले भने, ‘उहाँ मेरो पुत्रसमान हुनुहुन्छ, छोरा उमेरको मान्छेलाई पुत्रसमान भन्न नपाउने ? कस्तो संस्कार आएको ? कस्तो राजनीति आएको नेपालमा ? । ’

आफ्नो छोराको उमेर ५० वर्षको उमेरको भएको बताउँदै उनले ५२ वर्षको गगन थापालाई पुत्रसमान भन्न पाउनुपर्ने उनले बताए ।

बीपी कोइरालाको नीतिको स्मरण गराउँदै उनले पार्टीको असहमत पक्षलाई सहमतिमा ल्याएर १५ औँ महाधिवेशन सम्पन्न गर्न अनुरोधसमेत गरे । ‘सभापति भएर तपाईँ बीपी कोइरालाले प्रतिपादन गरेको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै सबैलाई मिलाएर जानुस्। पार्टीको असहमत पक्षलाई सहमतिमा ल्याएर १५ औँ महाधिवेशन सम्पन्न गर्न सफलता हासिल गर्नुस्, मेरो शुभकामना छ,’ उनले भने ।