घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु


काठमाडौं, साउन ६ । झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानकाे खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु भएको छ । आक्रमणपछि आत्महत्याको प्रयास गरेका श्रीमानकाे पनि उपचारका क्रममा ज्यान गएको छ । दमक नगरपालिका–१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे श्रीमान्–श्रीमतीबीच सामान्य विषयमा विवाद भएको थियो ।

सोही विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीको चोटबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चाेट पुगेको थियो ।

श्रीमतीमाथि ज्यानै लिने गरी आक्रमण गरेलगत्तै धनबहादुरले घरको अर्को कोठामा गएर सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए । सोही क्रममा उनकी २५ वर्षीया छोरीले बुबालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुइँमा झारेकी थिइन् ।

घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । प्रहरीले घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएकामा उपचारकै क्रममा दुवैको मृत्यु भएको हो ।